Banner News

नवीकरणीय ऊर्जाको माध्यमबाट कृषिको लागि दिगो सिंचाइ प्रवर्द्धन सम्बन्धी राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्मेलन हुने



काठमाडौं ७ वैशाख । आगामी हप्ता आयोजना गर्न लागिएको मुख्य तीन कार्यक्रमहरुमा सौर्य सिँचाइ सम्बन्धी राष्ट्रिय विज्ञान-नीतिसंवाद,  हिन्दुकुश हिमालय क्षेत्रमा कृषिमा नवीकरणीय ऊर्जाको उत्पादनमुलक उपयोग वृद्धि सम्बन्धी क्षेत्रीय सम्मेलन र सामाजिक रुपमा समावेशी सौर्य सिंचाइ प्रणाली सम्बन्धी अन्तराष्ट्रिय विज्ञान नीति सम्मेलन हुने भएका छन् ।

आयोजकका अनुसार जलवायु परिवर्तन विश्वव्यापी रूपमा र खास गरी अति कम विकसित र विकासशील देशहरुको लागि एक प्रमुख चुनौतीको रुपमा रहेको छ । उक्त देशहरूले जलवायु तत्परताको अभावमा जलवायु परिवर्तनबाट सिर्जित असरको सामना गरिरहेका छन् । उच्च जोखिममा समेत रहेको देखिन्छ । मौसम र जलवायु परिस्थितिमा निर्भरताका कारण विशेष गरी कृषि क्षेत्र बढी जोखिममा रहेको छ । जलवायु परिवर्तनले कृषि उत्पादन, पशुपालन, माटो र जलस्रोतलाई असर गर्छ र फलस्वरूप खाद्यान्न र जीविको पार्जनको सुरक्षालाई असर गर्छ । साथै कृषि क्षेत्र प्रत्यक्ष (सिँचाइको लागि डिजेलको प्रयोग) र अप्रत्यक्ष (कृषि विस्तारको कारण भूउपयोगमा आएको परिवर्तन मार्फत) दुवै रुपमा हरितगृह ग्यास उत्सर्जनको एक प्रमुख स्रोतको रुपमा समेत रहेको पाइन्छ ।

पहाडी क्षेत्रहरूमा जटिल भू-भागका कारण कृषि र सिँचाइले प्रमुख चुनौतीहरूको सामना गर्नु परिरहेको छ र यो चुनौति जलवायु परिवर्तनका प्रभावहरूले अझ बढ्दै गएको छ । नेपालको ६०% खेती योग्य जमिनमा सिँचाइको अभाव रहेको छ जस मध्ये ४०% जमिन पहाडमा छ । तसर्थ पहाडी भूभाग कृषि उत्पादन र खाद्य सुरक्षाका दृष्टिकोणले चुनौतीपूर्ण बन्दै गइरहेको छ । यसै सन्दर्भमा सौर्य ऊर्जा विशेष गरी सौर्य सिंचाई पम्प विद्युत आपूर्ति नियमित नहुने तथा महँगो एवं उच्चहरित गृह ग्यास उत्सर्ज नगर्ने खनिज इन्धनको भरपर्दो विकल्पको रुपमा रहेको छ । जीविकोपार्जन र कृषि-खाद्य प्रणालीको रूपान्तरण तथा जलवायु-उत्थानशील सिँचाइमा महिला र सीमान्तकृत समूहहरूमा प्रत्यक्ष लाभ पुर्‍याउनको लागि सौर्य सिंचाइ प्रणालीको सम्भाव्यता रहेको छ र सो सम्भाव्यता झल्काउने  यथेष्ट प्रमाणहरु समेत देखिंदै आएका छन् । सौर्य सिंचाइ प्रणाली प्रयोग गरेका समुदायहरूले कृषि उत्पादकत्व वृद्धि हुनुको साथै आयस्तर समेत बढेको बताएका छन् । निरन्तरर भरपर्दो सिंचाइ सुविधाको कारणले कृषकहरूको कृषि उत्पादनमा विविधीकरण गर्न, खाद्य सुरक्षामा सुधार गर्न तथा आर्थिक अवस्था माथि उकास्न सघाउ पुर्‍याउन सघाउ पुर्‍याएको छ ।

नेपालको कुल गार्हस्थ उत्पादनमा कृषिको उल्लेख्य योगदान (करिव २४%) भएता पनि यस क्षेत्रमा ऊर्जा खपतको हिस्सा न्यून रहेको छ । जसले गर्दा परम्परागत खेतीको अभ्यास तथा आधुनिक प्रविधिको विकास र उपयोगबीच ठूलो अन्तर रहेको पाइन्छ । परम्परागत सिँचाइ प्रविधिहरूमा निर्भरता, सिमित ऊर्जा पहुँच जस्ता कारणहरुले कृषिमा चुनौतीहरु बढ्नुको साथै हिमाली समुदायहरूलाई जलवायु अनिश्चितता तर्फ धकेलिरहेको देखिन्छ । कृषि उत्पादकत्व वृद्धि गर्न, खाद्य मागहरू पूरा गर्न र जलवायु परिवर्तनको सामना गर्न यस्ता समस्याहरुलाई सम्बोधन गर्नु अति आवश्यक देखिएकाले उक्त तीन वटा सम्मेलन आयोजन गर्न लागिएको हो ।

यसै सन्दर्भमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था (इमी) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँगको सहकार्यमा सन् २०२४ को अप्रिल २२ देखि २६ तारिखसम्म तीन वटा कार्यक्रमहरु नवीकरणीय ऊर्जाको माध्यमबाट कृषिको लागि दिगो सिंचाइ सम्बन्धी राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको छ ।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नवीकरणीय ऊर्जाले वातावरणीय चुनौतिहरूबाट उत्पन्न समस्याहरूको सामना गर्न र हिमाली, पहाडी तथा तराइ क्षेत्रमा कृषि उत्पादकत्व वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले केन्द्र र इसिमोडले तयार गरेको नवीकरणीय ऊर्जाको उत्पादनमुलक उपयोग प्लेटफर्म अनुसार नेपालमा हालको सिंचाइ मागलाई सम्बोधन गर्न ८०० देखि १३ सय मेगावाट बराबरको नवीकरणीय ऊर्जाको आवश्यकता रहेको बताउनुभयो । त्यस्तै ‘इमी’ सँगको सहकार्यमा गरिएको सौर्य सिंचाइ सम्बन्धी अनुसन्धानले नवीकरणीय ऊर्जा अनुदान नीतिमा साना कृषक तथा समुदायमा आधारित सौर्य सिँचाइ प्रणालीको लागि अनुदान उपलब्ध गराउने नीतिगत व्यवस्था गर्न योगदान पुर्‍याएको बताउनुभयो । साथै उहाँले यस्ता सम्मेलनहरूले नवीकरणीय ऊर्जाको माध्यमबाट कृषि र सिँचाइ प्रणालीहरूमा जलवायु उत्थानशीलता वृद्धि गर्नको लागि सामूहिक छलफल गरी आवश्यक रणनीति निर्माण गर्न सघाउ पुग्ने उल्लेख गर्नुभयो ।

उक्त तीनवटा सम्मेलनहरु जलवायु-उत्थानशील सिंचाइ मार्फत दिगो कृषिको लागि रुपान्तरणकारी विकल्पको रूपमा नवीकरणीय ऊर्जाको भूमिकाको विषयमा केन्द्रित रहने आयोजकले जनाएको छ ।

१. सौर्य सिँचाइ सम्बन्धी राष्ट्रिय विज्ञान-नीति संवाद : दिगो सिंचाइ तथा समावेशी नीतिको लागि नवीकरणीय ऊर्जा सहितको कृषिमा जोड

सन् २०२४ को अप्रिल २२ तारिखमा आयोजना गरिने सौर्य सिँचाइ सम्बन्धी राष्ट्रिय विज्ञान-नीति संवादको मुख्य उद्देश्य समावेशी, स्तरोन्नति तथा दिगोपनामा आधारित सौर्य सिंचाइ प्रणाली विकास सम्बन्धी विज्ञान-नीति संवादमा नीति निर्माताहरू, अनुसन्धान कर्ताहरू, निजीक्षेत्र, विकास साझेदारहरू, नागरिक समाज र अन्य प्रमुख सरोकारवालाहरुलाई एकसाथ संलग्न गराउने रहेको छ । त्यसैगरी सम्मेलनका अन्य उद्देश्यहरुमा सौर्य सिँचाइ सम्बन्धी नेपालको ज्ञान तथा अनुभव आदानप्रदान गर्नु, प्रमुख सरोकारवालाहरूबीच नीतिगतसंवादलाई प्रोत्साहन गर्नु र नेपालको सौर्य सिँचाइ क्षेत्रमा भविष्यमा गर्नु पर्ने अनुसन्धान तथा अवसरहरूको पहिचान गर्नु रहेको छ ।

यो सम्मेलनले नेपालमा सौर्य सिँचाइ प्रणालीको प्रवर्द्धनमा वृद्धि गरी जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन, सौर्य सिँचाइ कार्यान्वयनमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणको प्रवर्द्धन जस्ता विषयहरुमा जोड दिंदै सौर्य सिँचाइ कार्यक्रमको दिगोपन र उत्थानशीलतामा सघाउ पुर्‍याउनेछ ।

“सौर्य सिंचाइ पम्प पानी, ऊर्जा र खाद्य जस्ता आधारभूत आवश्यकताबाट असुरक्षित साना कृषकहरु (विशेष गरी महिलाहरु) मा खाद्य र पोषण सुरक्षामा सुधार ल्याउने कार्यमा सघाउ पुर्‍याउने एक रुपान्तरणकारी नवीकरणीय ऊर्जा प्रविधि हो ।”इमी” की नेपाल प्रतिनिधि डा. मनोहरा खड्काले स्वच्छ ऊर्जा एवं सौर्य सिँचाइको क्षेत्रमा महिलाहरुसँग सम्बन्धी एजेन्सीतथा महिलाहरुमा रहेको ज्ञान र क्षमतालाई कम आंकलन गर्ने वर्तमान परिवेशमा यस प्रविधिले सिंचाइ र कृषि प्रणालीको विद्यमान असमान शक्ति सम्बन्धलाई सुदृढबनाउन सघाउ पुर्‍याउने बताउनुभयो ।

२. हिन्दुकुश हिमालय क्षेत्रमा कृषिमा नवीकरणीय ऊर्जाको उत्पादनमुलक उपयोग वृद्धि सम्बन्धी क्षेत्रीय सम्मेलन

सन् २०२४ अप्रिल २३ तारिखमा आयोजना गरिने क्षेत्रीय सम्मेलनले हिन्दु कुश हिमालय क्षेत्रमा रहेका देशहरुबाट प्रतिनिधित्व गर्ने नीति निर्माता, विज्ञ, व्यवसायी र सरोकारवालाहरूलाई एकसाथ सहभागी गराइ कृषि क्षेत्रमा उत्पादनमुलक उपयोगको लागि नवीकरणीय ऊर्जाको सम्भावनाबारे स्पष्ट दिशानिर्देश गर्नेछ । यस पहलले सौर्य सिंचाइ सम्बन्धी साझा सवालहरुलाई कार्यान्वयन योग्य नीति निर्माणको लागि सिफारिस गर्न र यस क्षेत्रमा नवीकरणीय ऊर्जाको प्रवर्द्धनलाई प्रोत्साहित गर्न सघाउ पुग्नेछ । यो क्षेत्रीय सम्मेलनले नवीकरणीय ऊर्जाको उत्पादनमुलक उपयोगलाई मापन गर्न र कृषिक्षेत्रमा अर्थपूर्ण परिवर्तनको लागि सहयोगी रणनीतिहरू पहिचान गर्नुका साथै आवश्यक पूर्वाधारहरूको साझा एजेण्डा स्थापित गर्न प्लेटफर्मको रूपमासमेत काम गर्नेछ ।

इसिमोडका ऊर्जा विज्ञ अभिषेक मल्लले “स्वच्छ ऊर्जाको रुपान्तरणले अन्य क्षेत्रहरूमा धेरै फड्को मारे ता पनि कृषि क्षेत्रलाई रूपान्तरण गर्न यसको क्षमताको उपयोग नसकेको बताउनुभयो । उहाँले नेपालको कुल गार्हस्थ उत्पादनको एकतिहाइ हिस्सा ओगट्ने र देशको दुईतिहाइ जनसंख्यालाई रोजगारी दिने कृषि क्षेत्रमा केन्द्रित हुनु महत्त्वपूर्ण रहेको बताउनुभयो । नेपालको उदाहरण दिंदै विशेष गरी जलवायु परिवर्तनको प्रभावबाट बदलिंदो परिवेशमा पानीको उपलब्धता कम हुने स्थानमा उच्च कुपोषणको दर रहने पनि उहाँले औल्याउनुभयो ।” हामी कृषि जस्तो महत्त्वपूर्ण क्षेत्रमा विकासको गति बढाउन सरकारी साझेदारहरूसँगको सहकार्यमा यो ऊर्जासप्ताह आयोजना गर्न पाउँदा अत्यन्तै खुसी छौं जसले पृथ्वीमा जलवायु परिवर्तनबाट सबैभन्दा प्रभावित मुलुकहरुमध्येको एक नेपालका हिमाली, पहाडी तथा तराइ क्षेत्रका लाखौं साना किसानहरूको जीवनस्तरमा सुधार ल्याउने र खाद्य सुरक्षा एवं खाद्य सम्प्रभुता कायम गर्ने क्षमता राख्छ ।

३. समावेशी सौर्य सिंचाइ प्रणाली सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञान नीति सम्मेलन

अप्रिल २४ देखि २६ तारिखसम्म हुने यस सम्मेलनले कृषिमा सौर्य उर्जाको प्रभावकारी र दिगो प्रयोगको बारेमा विश्वव्यापी महत्वाकांक्षाको मापन, विश्वभरका र दक्षिण एसियामा कृषिमा सौर्य ऊर्जा प्रयोगको बढ्दो प्रभाव र प्रमाणहरूबारे छलफल गर्न, विशेष गरी यस क्षेत्रका अनुभव, अन्तर दृष्टिहरू, रदक्षिण-दक्षिण सहकार्यमा छलफल गर्न करिब १५० प्रमुख सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउनेछ । सम्मेलनमा चार मुख्य विषयगत क्षेत्रहरूमा प्रस्तुतीकरण र छलफल हुनेछ जसमा भूमिगत जलस्रोतको दिगोपना, अनुकूलन तथा न्यूनीकरण, सौर्य सिंचाइ प्रणालीको व्यावसायिक ढाँचाहरु तथा सौर्य सिंचाइको स्तरोन्नति, क्षमता अभिवृद्धि एवं लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा समुदायको भूमिका र सौर्य ऊर्जा रुपान्तरणको लागि प्रभावकारी तथा समावेशी नीतिगत व्यवस्था रहेका छन् ।