Banner News

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि



काठमाडौँ, ८ वैशाख । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि सुरु हुँदैछ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा बस्ने परिषद् बैठकमा देशभरका एमालेका झण्डै २५ सय अगुवा नेता कार्यकर्ता सहभागी हुनेछन् । पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव शङ्कर पोखरेलले परिषद् बैठकको औचित्यबारे जानकारी गराउँदै समग्र कामको समीक्षा र आगामी कामको दिशानिर्देश गर्ने बताए ।

एमालेका अनुसार परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यो बाहेक केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् । ती सबै दस्ताबेज मोबाइल एपबाट सहभागीहरूले अध्ययन गर्न सक्नेछन् ।

बैठकमा एमालेले २०८० मा चलाएको मिसन ग्रासरुट र झुलाघाट चिवाभन्ज्याङ संकल्पयात्राको समीक्षासमेत गर्नेछ । सोही समीक्षाका आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने सो पार्टीले जनाएको छ । यो बाहेक यसअघि गरिएको पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजनको समेत हिसाबकिताब बैठकमा हुनेछ ।

एमालेले प्रतिनिधि परिषद्को बैठकलाई प्रविधिमैत्री बनाउने तयारी गरेको छ । जसअन्तर्गत बैठकमा सहभागी हुने प्रतिनिधिले आफ्नो परिचयपत्र र नेताहरूले प्रस्तुत गर्ने दस्ताबेज मोबाइल एपबाटै हेर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ । बैठकमा सहभागीहरूको सुझाव समेत एपबाटै लिने व्यवस्था मिलाइने छ । बैठकमा हुने आन्तरिक छलफलमा डिजिटल प्रविधिको उपयोगमार्फत पारदर्शी, अन्तरक्रियात्मक र पेस हुने प्रतिवेदनहरू देशभरका संगठित सदस्यहरूले हेर्न पाउने र उनीहरूको  समेत मत लिएर निर्णय गर्ने व्यवस्था गरेको एमालेले जनाएको छ । तर त्यसका लागि एमालेको एप्स डाउनलोड गरेको हुनुपर्नेछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले परिषद् बैठकले मुख्यगरी दुईवटा काम गर्ने बताए । गौतमका अनुसार पार्टी महाधिवेशन र विधान महाधिवेशनयताका समग्र कामको समीक्षा गर्ने छ । त्यस्तै कुनै कमीकमजोरी भएको भए त्यसलाई सुधारको बाटोमा लैजाने दोस्रो महत्त्वपूर्ण काम परिषद् बैठकले गर्नेछ ।