राजनीति

नेपाल र कतारबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता



काठमाडौँ, १२ वैशाख । नेपाल भ्रमणमा रहेको कतारी प्रतिनिधि मण्डल र नेपाली टोलीबिच दुई पक्षीय वार्ता भएको छ ।

काठमाडौँको  होटल सोल्टीमा केहीबेर अघि दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालले जनाएको छ । दुई पक्षीय भेटवार्तामा कतारका तर्फबाट अमिर शेख तमिम बिन हमाद अल थानी र नेपालका तर्फबाट प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेका छन् । दुई पक्षीय वार्तामा प्रधानमन्त्री प्रचण्ड र थानीबाहेक कतारी मन्त्रीका साथै उच्च पदस्थ अधिकारी र नेपालका उपप्रधानमन्त्रीसहित मन्त्रीहरु सहभागी छन् । 

बैठक सम्पन्न भएपछि नेपाल र कतारबीच आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयको प्रवक्ता अमृत राईका अनुसार बैठकपछि नेपाल र कतारबीच सरकारी तहमा ६ र निजी क्षेत्रबीच दुई गरी कुल आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

आज नेपाल र कतारबीच कला तथा साँस्कृतिक, शिक्षा, युवा तथा खेलकुद, दुई देशका महान्यायाधिवक्ताको कार्यालय, राष्ट्रिय समाचार समिति र कतारी न्युज एजेन्सीबीच सहकार्य, पराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र कतारको यस्तै प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएका छन् । यस्तै, नेपालको उद्योग वाणिज्य महासंघ र कतारको उद्योग वाणिज्य महासंघबीच दुई वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सबै समझदारीपत्रको उदेश्य सहकार्य र सहयोग आदानप्रदान गर्ने रहेको छ । 

काठमाडौंको होटेल सोल्टीमा प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीको उपस्थितिमा सम्बन्धित अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।