राजनीति

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर



काठमाडौँ, १२ वैशाख । नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीबिचको भेटवार्तापछि विभिन्न विषयमा सम्झौता भएको हो । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरको उपस्थितिमा सम्झौतापत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका कानुन मन्त्रीले हस्ताक्षर गरेको जनाएको छ । 

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी,  कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।

यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् । होटल सोल्टीको यो कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।