धनगढी, २४ वैशाख । सुदूरपश्चिममा मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन आनाकानी गरेका एमाले सांसदलाई अध्यक्ष केपी शर्मा ओलीले ‘हतार नगर्न’ निर्देशन दिएका छन् ।
शनिबार काठमाडौं पुगेका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र प्रमुख सचेतक सुरेन्द्रबहादुर पाललाई ओलीले विश्वासको मत लिने समय पर्याप्त बाँकी रहेकाले हतार नगर्न निर्देशन दिएका हुन् । ‘विश्वासको मत नदिने भन्ने होइन तर हतार नगर्न निर्देशन गर्नुभएको छ,’ प्रमुख सचेतक पालले भने, ‘अध्यक्षले केन्द्रतिर सबै कुरा मिलाएर खबर गर्छौं भन्नुभएको छ ।’
मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने तयारी गरेका थिए । सोहीअनुसार प्रदेशसभा सचिवालयले बैठकको आह्वान गरेको थियो । तर एमाले मत दिन तयार नभएपछि बैठक शनिबारका लागि सारिएको थियो ।
एकीकृत समाजवादीका सोडारीले मुख्यमन्त्री दाबी गर्दा एमाले, माओवादी, नागरिक उन्मुक्ति (रञ्जिता समूह) र एक स्वतन्त्र सांसदले समर्थन गरेका थिए । उनी वैशाख ६ मा मुख्यमन्त्री नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८, एमाले ११, माओवादी सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादी ४, राप्रपा १ र १ स्वतन्त्र सांसद छन् । नागरिक उन्मुक्तिमा २ सांसद अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षमा छन् भने ५ जना संरक्षक रेशम चौधरी पक्षका छन् ।
प्रतिक्रिया दिनुहोस्