राजनीति

कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्न देउवाको निर्देशन



काठमाडौँ, १४ वैशाख । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई पूर्ण बहुमत आउनेगरी अभियान सफल बनाउन निर्देशन दिएका छन् ।

आज काठमाडौँमा भएको पूर्वकर्मचारी समाज नेपालको छैटौँ साधारणसभालाई सम्बोधन गर्दै उनले नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठुलो र महत्त्वपूर्ण भूमिका रहेको बताए । सभापति देउवाले सरकार परिवर्तन भइरहने भएपनि कर्मचारीतन्त्र स्थायी हुने बताए ।

उनले भने, ‘नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठुलो र महत्त्वपूर्ण भूमिका रहेको छ । सरकार परिवर्तन भइरहन्छन् तर कर्मचारीतन्त्र स्थायी हुन्छ । त्यसैले स्थायी सरकार पनि भनिन्छ । कर्मचारीहरूको मुलुक निर्माणमा अत्यन्त ठुलो भूमिका हुन्छ । जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर हुन्छ’ । ‘सरकारको सफलता र असफलतामा कर्मचारीको भूमिका महत्त्वपूर्ण हुन्छ । नेपाली जनताको उन्नति, प्रगति नेपाली कांग्रेसको अपूर्ण अभिष्ट हो । यो उद्देश्य पूरा गर्न हाम्रो पार्टी सदैव दृढ संकल्पित छ । त्यसका लागि लामो समयसम्म सरकारलाई तपाईहरुले दिएको अनुभव महत्त्वपूर्ण छ । आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पूर्ण बहुमत आउने अभियानमा सफल गराउनुहुनेछ भन्ने विश्वास लिएको छु ।’