समाचार

अवैध सामानसहित भारतीय नागरिक पक्राउ



काठमाडौँ, १८ वैशाख । धनगढीमा प्रहरीले ४० लाख रुपैयाँभन्दा बढीको स्रोत नखुलेको सामानसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

कैलाली प्रहरीका अनुसार सोमबार साँझ धनगढी उपमहानगरपालिका–४ मा रहेको हरि ओम हार्डवयर एन्ड सप्लायर्सको गोदाममा छापा हानेर सामान बरामद गरेको हो । भारतको लखिमपुर पलिया कला खिरी जिल्ला स्थायी घर भएर धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका ४४ वर्षीया आशिष गुप्तालाई स्रोत नखुलेको सामानसहित पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको अपराध अनुसन्धान समुहको टोलीले भारतिय नम्बर युपी ३१ टी ७७११ नम्बरको ट्रकमा भन्सार छली चोरी पैठारी गरी ल्याएका हार्डवेयरका सामान, ट्रकसहित गुप्तालाई पक्राउ गरिएको हो । प्रहरीले गोदामबाट बरामद गरिएका हार्डवयर र ट्रकको समेत मूल्यांकन गर्दा ४० लाख ४ हजार रुपैयाँ भएको जनाएको छ ।