राजनीति

निर्वाचन आयोगविरुद्ध अदालत जान्छु : उपेन्द्र यादव



काठमाडौँ, २६ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले अवैधानिक रूपमा पार्टी विभाजन गराउने काम गरेको र त्यसका लागि कानुनी उपचार खोज्ने बताए । 

आज पत्रकार सम्मेलनको आयोजन गरी उनले निर्वाचन आयोगमा दल दर्ता सम्बन्धी ऐन नै भएको बेलामा गैर कानुनी तरिकाले रातारात पार्टी दर्ता भएको हो, इतिहासमा पहिलो पटक यसरी पार्टी दर्ता भएको भन्दै यसको विरुद्धमा अदालतमा जाने बताए ।

सैद्धान्तिक तथा वैचारिक कुनै फरक नरहेको भन्दै उनले अलग भएका नेताहरू मन्त्री बनेका छन्, सांसद बनेका छन् यो भन्दा बढी आफूले दिन नसक्ने बताए ।

त्यस्तै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारको समर्थन कायमै रहने बताएका छन् । 

यादवले पार्टी विभाजन भए पनि समर्थन कायमै रहने बताए । “अहिलेको सरकारलाई यति हुँदाहुँदै पनि जसपाको समर्थन छ,” उनले भने, “समर्थन फिर्ता लिने कार्य गरेका छैनौँ । समर्थन कायमै रहन्छ ।” 

उनले आफू अमेरिका गएको बेलामा मौका छोपेर पार्टी विभाजन गरिएको बताए । “म अमेरिका भएको बेला मौका छोपेर एउटा हल्ला चलाइयो । जसपा र एकीकृत समाजवादी कांग्रेससँग मिलेर सरकार ढाल्ने भयो भनेर हल्ला चलाइयो,” उनले भने ।