राजनीति

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : अध्यक्ष नेपाल



काठमाडौँ, ६ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने स्पष्ट पारेका छन् ।

आज आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस विषयमा कसैलाई पनि आशङ्का नगर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने कुरा भएको छ । हामी पनि सरकारमा सहभागी छौँ । हामीले विश्वासको मत नदिने प्रश्नै उठ्दैन । मिडिया साथीहरू कसैले शङ्का–उपशङ्का नगरे हुन्छ, कुनै इफ, कुनै बट छैन । विथआउट रिजर्भेसन हामी मत दिनेछौँ ।’

उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको तर्फबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेको पनि स्मरण गराए । त्यस्तै पूर्वको कोशी प्रदेशमा पनि आफूहरूले विश्वासको मत दिएको उनले बताए । ‘माग्न आए पनि, नआए पनि । भने पनि नभने पनि हामीले विश्वासको मत सहज रूपमा दिएका छौँ । किनभने हामी जिम्मेवार राजनीतिक शक्ति हौँ,’ अध्यक्ष नेपालले भने ।