समाचार

 ‘मुख्यमन्त्रीको पिए’ हुँ भनेर ठगी गर्ने युवक पक्राउ



काठमाडौँ, २८ वैशाख । कास्कीको पोखरा क्षेत्रमा ‘मुख्यमन्त्रीको पिए हुँ’ भनेर ठग्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर–३१ घर भएका सुवास सुवेदीलाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

२८ वर्षीय सुवेदीलाई आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । वैशाख २० मा सुवेदीले पोखरास्थित एउटा टुर्स एण्ड ट्राभल्स प्रालीमा फोन गरेर ‘म मुख्यमन्त्रीको पिए हुँ, तुरुन्तै मलाई पोखराबाट काठमाडौँ र काठमाडौँबाट नेपालगञ्जको हवाई टिकट पठाइदिनु भनेर फोन गरेका थिए ।’ टिकट काट्न लगाएर यात्रा गरेपनि उनले ट्राभल्सलाई पैसा नदिएर ठगेका हुन् । वडा प्रहरी कार्यालय बैदामका डीएसपीलाई पनि उनले फोन गरेर ‘बालुवाटारबाट बोलेको हुँ’ भन्दै अभद्र व्यवहारको मुद्दा बुझाउन निर्देशन गरेको खुलेको छ ।