राजनीति

देशको समृद्धिका लागि सोचेअनुसार काम भएन : अध्यक्ष दाहाल



काठमाडौँ, २९ वैशाख । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले देशको समृद्धिमा सोचेअनुसार काम नभएको बताएका छन् । 

शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले साँचो समृद्धिको बाटो अझै सहज नरहेको जिकिर गरे । उनले राजनीतिक अस्थिरतादेखि आर्थिक असमानताका थुप्रै चुनौतीहरूको सामना गर्नुपरेको उल्लेख गर्दै अस्थिरताका कारण सोचेअनुरुपको विकास हुन नसकेको बताए । उनले दुर्गम गाउँहरूमा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच प्रदान गर्नेदेखि सीमान्तकृत समुदायको अधिकारको रक्षा गर्न सामाजिक संघ संस्थाहरूले महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

उनले भने, ‘हामी सबैलाई थाहा छ, नेपाल प्राकृतिक श्रोत, साधन, सम्पदा र अथाह सम्भावना भएको देश हो । वैभवशाली प्राकृतिक श्रोत साधन, सांस्कृतिक विविधता र मेहनती, स्वावलम्बी, एवं परिश्रमी मानिसहरूले भरिपूर्ण नेपाल अनेकतामा एकता भएको देश पनि हो । तर साँचो समृद्धिको बाटो भने सहज छैन जसले हाम्रो देशको समृद्धिमा सोचेअनुसार काम भइरहेको छैन । दुर्गम गाउँहरूमा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच प्रदान गर्नेदेखि सीमान्तकृत समुदायको अधिकारको रक्षा गर्न सामाजिक संघ संस्थाहरूले महत्त्वपूर्ण भूमिका खेलका छन् । जसले श्रोतहरूको पहिचान गर्दै साझेदारीलाई बढवा दिँदै र व्यक्तिलाई आफ्नै विकासको जिम्मा लिन सशक्त बनाउँदै अगाडि बढिरहेका छन् ।’