अर्थ

नेपाल टेलिकमको ९ महिनामा ५ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा



काठमाडौँ, ३१ वैशाख । नेपाल टेलीकमले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ५ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत आवको यसै अवधिको तुलनामा ३.३ प्रतिशत बढी हो । गत आवको यस अवधिमा कम्पनीले ५ अर्ब ४१ करोड खुद नाफा कमाएको थियो ।

कम्पनीको कुल आम्दानी भने घटेको छ । कम्पनीले ९ महिनामा कुल २५ अर्ब ४८ करोड आम्दानी गरेको छ । गत आवको यस अवधिमा यस्तो आम्दानी २७ अर्ब ३४ करोड रुपैयाँ थियो । आम्दानी घट्दा पनि नाफा बढ्नुको मुख्य कारण कर्मचारीको सेवासुविधा खर्च, कार्यालय सञ्चालन खर्च, वित्तीय खर्च लगायतमा कमी आउनु हो ।

कम्पनीको प्रतिसेयर आम्दानी सामान्य बढेको छ । गत आर्थिक वर्ष यस अवधिमा वार्षिक प्रतिसेयर आम्दानी ४० रुपैयाँ ९ पैसा रहेकोमा अहिले ४१ रुपैयाँ ४४ पैसा छ । १८ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ७४ अर्ब ३३ करोड रुपैयाँ बराबर छ ।