समाचार

काठमाडौँमा वायु अझै स्वस्थकर भइसकेको छैन



काठमाडौँ, १ जेठ । काठमाडौँ उपत्यकामा पनि वायु प्रदूणको तह घटेको छ । तर, विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार वायु स्वस्थकर भइसकेको छैन ।

मंगलबार बिहान ११ः३० बजे वातावरण विभागको रेकर्डअनुसार, ललितपुरको भैँसेपाटी क्षेत्र सबैभन्दा धेरै प्रदूषित छ । त्यहाँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १७१ छ ।

देशमा वायु प्रदूषणको तह घटेको छ । वैशाख तेस्रो सातासम्म उच्च प्रदूषित अधिकांश सहरहरू वर्षासँगै सफा भएका छन् ।

काठमाडौँका शंखपार्क, रत्नपार्क, ललितपुरको खुमलटार, भक्तपुरलगायत स्थानमा एक्यूआई ५१ देखि ८१ सम्म छ । त्यो वायु बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीका निम्ति हानिकारक हुनसक्छ । पछिल्लो २४ घण्टामा ती स्थानको औसत एक्यूआई ९४ सम्म मापन गरिएको विभागको तथ्यांक छ । वैशाख तेस्रो सातासम्म उच्च प्रदूषित उपत्यकाबाहिरका पोखरा, धनकुटा, नेपालगन्ज, राराक्षेत्र मंगलबार सफा छन् । ती क्षेत्रको एक्यूआई ५० भन्दा कम छ । मंगलबार बिहान ११ः३० बजे सबैभन्दा सफा नेपालगन्ज (एक्यूआई १९) देखिएको छ ।

एक्यूआई ५० भन्दा कम भएको वायु सबैका निम्ति स्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ । वायुमा रहेका १० र २.५ माइक्रोग्रामभन्दा साना खराब कणहरूको मात्रा एक्यूआईमार्फत मापन गरिन्छ ।