विश्व

इरानका राष्ट्रपति र विदेशमन्त्री चढेको हेलिकोप्टर दुर्घटना



तेहरान, ७ जेठ । इरानका राष्ट्रपति इब्राहिम रहिसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिन चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । इरानका गृहमन्त्री अहमद वाहिदीले दुवैजना हेलिकोप्टरमा सवार भएको पुष्टि गरेका छन् ।

उक्त हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमति समेत अन्य व्यक्ति पनि सवार भएको जनाइएको छ । 

इरानको सरकारी मिडियाका अनुसार उडानको समयमा हेलिकोप्टरलले अफ्ठ्यारो अवस्थाको सामना गर्नु परेको थियो । त्यसैले ‘हार्ड ल्यान्डिङ’ गर्नु परेको बताइएको छ । तर कस्तो समस्या हेलिकोप्टरले सामना गर्नुपरेको थियो त्यो भने स्पष्ट पारिएको छैन ।  उद्धारका लागि एक उद्धार टोली घटनास्थलतर्फ गएको जनाइएको छ । खराब मौसमका कारण उद्धारमा समस्या भएको जनाइएको छ ।

घटनाको एक घण्टापछि पनि उद्धार दल खराब मौसमका कारण घटनास्थलमा पुग्न सकेको थिएन । उक्त क्षेत्रमा ४० जनाको रक्षा दल खटाइएको गृहमन्त्रीले जनाएका छन् । आपतकालीन उद्धारका लागि अपरेसन ड्रोनको पनि प्रयोग गरिएको जनाइएको छ ।

घटनास्थलमा आठवटा एम्बुलेन्स पनि पठाइएको छ । राष्ट्रपति रइसी अजरबैजानमा किज कलासी र खोदाफरिन बाँधको उद्घाटनका लागि त्यसतर्फ गएका थिए ।  उद्घाटनपछि उनी तबरेज सहरतर्फ जाँदै थिए । उद्धार दलका साथ रहेका फोर्स न्युजका रिपोर्टरका अनुसार भारी कुहिरोका कारण उद्धार कार्यमा कठिनाइ भएको छ । बीबीसी