समाचार

११ हजार बालबालिकालाई आइपीभी खोप लगाइँदै



काठमाडौँ, ८ जेठ । बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना बालबालिकाका लागि यही जेठ १३ देखि २६ गतेसम्म आइपीभी खोप अभियान सञ्चालन हुने भएको छ ।

खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप अभियान प्रारम्भ हुन लागेको हो । जिल्लाका दशवटै स्थानीय तहमा खोप सञ्चालनका लागि स्वास्थ्य कार्यालय बागलुङले आवश्यक तयारी थालेको जनाएको छ ।

विकट ग्रामीण भेगका बालकालिकालाई खोपको पहुँचमा ल्याउन तीन सय ३९ स्थानमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले बताए । कुनै पनि बालबालिका आइपीभी खोपबाट बञ्चित नहोउन् भन्ने उद्देश्यसहित तीन सय ३९ जना स्वास्थ्यकर्मी, छ सय ८९ जना स्वयंसेवक खटाइने प्रमख आचार्यले जानकारी दिए ।