समाचार

मनसुनजन्य विपद्‌बाट जोगाउन टास्क फोर्स बन्नेः उपप्रधानमन्त्री लामिछाने



काठमाण्डौ,१४ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु भएसँगै जेठ १९ देखि असोज १९ सम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि गृहमन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउने बताएका छन् ।

आज गृहमन्त्रालयमा मनसुनसम्बन्धी विपद् जोखिमसम्बन्धी सरोकारवालाहरूसँगको छलफलमा लामिछानेले यस्तो बताएका हुन् ।

लामिछानेले वर्षायाम सुरु भएसँगै मनसुन जन्य विपतमा जनताको उद्धार राहतको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, सडक विभाग, हेलिकोप्टर व्यवसायीको प्रतिनिधि, मौसम पूर्वानुमान, जल तथा मौसम विभागको प्रतिनिधित्व हुनेगरी तीन दिनभित्र टास्क फोर्स बनाउने बताए ।

उनले यो वर्षको मनुसन जन्य विपद् जोखिमबाट बचाउने र जोखिम परे तत्काल उद्धार गर्ने र जनतालाई सरकार भएको अनुभूति हुनेगरी काम गर्ने लक्ष्य रहेको बताए ।

साथै लामिछानेले सो लक्ष्य पूरा गर्नको लागि सम्बन्धित निकायहरूले त्यही अनुसारको तयारी अघि बढाउनु पर्ने वताए ।