समाचार

यार्सा टिप्न गएकी एक युवतीको लेक लागेर मृत्यु



काठमाडौँ, १५ जेठ । यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४, गोतामकोटकी जमुना विष्टको सोमबार लेक लागेर मृत्यु भएको छ ।

वडाध्यक्ष नरसिंह विष्टका अनुसार डोल्पाको काईके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि २२ वर्षीया विष्टको मृत्यु भएको हो। यार्सागुम्बा टिप्नका लागि डोल्पाको नाउँरेमा पुगेपछि निज लेक लागेर बिरामी परेकी थिइन् । बाटोमा बिरामी भएपछि यार्सा टिप्न सँगै गएका बहिनी र भिनाजुसँग घर फकिर्दै गर्दा मृत्यु भएको हो । सशस्त्र प्रहरी बलको सहयोगमा गत राति शव डोल्पा जिल्ला अस्पताल दुनैमा ल्याइएको थियो । अहिले अस्पतालमा पोष्टमार्टम गर्ने तयारी भइरहेको छ ।