समाचार

अस्ट्रेलियामा दुई नेपालीको मृत्यु



काठमाडौँ, १६ जेठ । अस्ट्रेलियाको सिड्नीमा दुई जना नेपालीको मृत्यु भएको छ ।

 माछा मार्ने क्रममा समुद्रमा खस्दा २२ र २५ वर्षीय युवकको मृत्यु भएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ ।

सोमबार क्रोनलाको उत्तरमा रहेको कर्नेलको केप सोल्यान्डर ड्राइभ नजिकैका चट्टानमा बसेर ‘रक फिसिङ’ गर्ने क्रममा उनीहरू समुद्रमा खसेका थिए । उनीहरू लाइफ ज्याकेट बिना चट्टानमा बसेर माछा मारिरहेको बताइएको छ ।

सर्फ लाइफ सेभिङ न्यु साउथ वेल्सको स्टेट अपरेसन सेन्टरले स्थानीय समयअनुसार  करिब २:४५ बजे माछा मारिरहेका दुई जना चट्टानबाट पानीमा खसेको खबर पाएको थियो । त्यसपछि सर्फ लाइफ सेभिङ न्यु साउथ वेल्सका अधिकारीहरू, न्यु साउथ वेल्स एम्बुलेन्सका स्वास्थ्यकर्मीहरू र मरिन रेस्क्यु पनि घटनास्थल पुगेका थिए ।

घटनास्थलमा उद्धारकर्मी पुगेर दुई जनालाई निकालेर प्राथमिक उपचार दिइएको प्रहरीको भनाई छ । तर, केही समयपछि दुवै जनालाई घटनास्थलमा मृत घोषित गरिएको थियो ।