समाचार

तराईमा गर्मीले जनजीवन कष्टकर



काठमाडौँ, १७ जेठ । तराई मधेशका जिल्लामा गर्मी बढेको छ । पश्चिम तराईका कतिपय ठाउँमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । हिजो धनगढीको तापक्रम ४३ दशमलव ३ र नेपालगञ्जको तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार धनगढीमा बुधवार २८ वर्षपछि उच्च तापक्रम मापन भएको थियो । गएको वर्ष धनगढीको उच्च तापक्रम ४१ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।

यस्तै नेपालगञ्जमा हिजो यसवर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । नेपालगञ्जको अधिकतम तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस पुगेको र यो  वर्ष गर्मी शुरु भएयताकै सबैभन्दा धेरै भएको थियो ।

आज र भोलि अझै गर्मी बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अत्यधिक गर्मीका कारण सबैभन्दा बढी खुला ठाउँमा काम गर्ने मजदुर र रिक्साचालक प्रभावित भएका छन् । गर्मी बढिरहँदा नेपालगञ्जमा विद्युत् नियमित नहुँदा नागरिकले ठूलो सास्ती खेप्न बाध्य भएका छन् ।