समाचार

हुरीले उडाएको जस्ताले काट्दा एक वृद्धको मृत्यु



काठमाडौँ, १८ जेठ । वीरगञ्जमा हुरीबताससहितको बिहीबारको वर्षाले एक सय सात वर्षीय वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेको ज्यान गएको हो । घरमा बसिरहेकी उनी धारिलो जस्ताले लाग्दा गम्भीर घाइते भएका थिए ।

उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

हुरीका कारणले पर्साको बहुदरमाई गाउँपालिका–७ बहुवनमा रहेको एनसेलको टावर ढलेर एकजना घाइते भएका छन् । घाइते हुनेमा ६० वर्षीय जोगेन्द्र महतो छन् । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भएर अहिले डिस्चार्ज भइसकेका छन् । सोही गाउँपालिकामा हुरीबतासका कारण चारवटा बाख्रा पनि मरेका छन् । हुरीबतासले पर्साको प्रहरी बिटका छानोसमेत उडाएको छ । जिल्लामा हुरीका कारणले भएको क्षतिको विवरण सङ्कलन जारी रहेको प्रहरीले जनाएको छ ।