समाचार

ठगीको आरोपमा एक युवक पक्राउ



काठमाडौँ, २१ जेठ । सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमार्फत कुरा गरेर विदेशबाट लाखौँ डलर पठाएको छु भनेर ठग्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–९ घर भएर मित्रनगर बस्ने वीरबल घर्तीमगर छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अमुसर २१ वर्षीय घर्तीमगरलाई काठमाडौँबाट पक्राउ गरिएको हो । ३ जना पीडितबाट उनले १६ लाख ६२ हजार रकम ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।

काठमाडौँमा बस्ने एक जना युवकलाई विदेशी नागरिक क्याथरिन सिन्डेभेराले फेसबुकमा साथि बन्न अनुरोध गर्छन् । उनीहरूबिच मेसेन्जरमा कुरा गर्दा क्याथरिनले भन्छन्–‘म अमेरिकन आर्मी हुँ, सिरिया मिसनमा खटिएको छु ।’ सिरियाको मिसनमा आतङ्ककारीहरूले लुकाई राखेको १ दशमलव ७ मिलियन डलर फेला पारेर ल्याएको र सो रकम अमेरिका लैजान नमिल्ने भन्दै क्याथरिनले सो रकम नेपाल पठाउने आश्वासन दिए ।

पीडितले अनुरोध स्वीकारेपछि क्याथरिनले भने– ‘पछि  म नेपालमा आएर विद्यालय र अस्पताल सञ्चालन गर्नुपर्छ तपाईंको नाममा सो डलर पठाइदिन्छु तपाईंले ३० प्रतिशत चलाउनु बाँकी रहेको रकम सुरक्षित साथ राख्नुहोला ।’

त्यसपछि पीडित युवकलाई ह्वाट्स एप नम्बरबाट फोन आउँछ । फोन गर्नेले युएनको कूटनीतिक एजेन्टको परिचय दिएर त्रिभुवन विमानस्थलमा पार्सल आएको बताउँछन् । सो पार्सल पाउन भन्सार शुल्क बापत १ लाख ४६ हजार बीरवल घर्तीमगरको नामको बैंक खातामा पठाउन भन्छन् । पीडितले भन्सार शुल्क बापत रकम पठाए तर, सामान नपाएपछि उनी प्रहरीकहाँ गएका हुन् । टिकटक र इन्स्टाग्राममार्फत कुरा गरेर आरोपीले थप दुई जनाबाट पनि रकम ठगेका हुन् ।