समाचार

साढे दुईलाख विरुवा रोप्ने तयारी



काठमाडौँ, २२ जेठ । पोखरा महानगरपालिका क्षेत्रभित्र २ लाख २६ हजार २६१ विरुवा लगाइने भएको छ । ‘स्वच्छ शहरः हरित सहर’को रूपमा विकास गर्ने उद्देश्यले महानगरले विरुवा रोप्न लागेको हो ।

सम्भावित वृक्षारोपण क्षेत्र पहिचान तथा रणनीतिका लागि महानगरले वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उप प्राध्यापक डा.शेषकान्त भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सोही कार्यदलले मेयर धनराज आचार्यलाई मंगलबार प्रतिवेदन बुझाउँदै २ लाख बढी क्षेत्रमा वृक्षारोपण गर्न सकिने बताएको हो ।

प्रतिवेदनमा महानगर क्षेत्रको ७ सय कि.मी सडक तथा राजमार्ग, झन्डै ६९ कि.मी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका विरुवाहरू लगाइने छ । सहरी वन विकास तथा हरियाली प्रवर्द्धनका लागि वर, पिपल, शमी, पैयुँ, कोइरालो, टाँकी, लाली गुराँस, असारे, आँप, अमला, अशोका, कल्की फुल, राइखन्यु, गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धुपी, बाँस, खयर, सिसौँ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जङ्गली केरा लगायत विरुवाहरू लगाइने छ ।