अर्थ

४० हजार किसानले पाएनन् दुधको भुक्तानी



काठमाडौँ, २३ जेठ । चितवनमा ४० हजार किसानले दुधको भुक्तानी नपाएको गुनासो गरेका छन् ।

जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दुधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन् ।

 दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ । एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत संकलन गरिएको दुध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन्। सुजल डेरी पोखराले कात्तिकको  भुक्तानी गर्न बाँकी छ । दुग्ध विकास संस्थानको मङ्सिरयताको २२ करोड बाँकी छ भने अन्य २८ वटा डेरी उद्योगले पनि किसानलाई पैसा दिएका छैनन् ।

जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ। जिल्लामा पाँच सय हाराहारी पशुपालन फार्म छन् । यहाँ एक लाख गाई र ६० हजारभन्दा बढी भैँसी पालेर दूध उत्पादन हुँदै आएको छ ।