अर्थ

बजेट प्रभावकारी बनाउन सरकारसँग कुरा भइरहेको छ : अध्यक्ष ओली



काठमाडौँ, २६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट सच्याउनका लागि सरकारसँग कुरा गरिरहेको बताएका छन् ।

आज काठमाडौँमा भएको पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बजेटलाई रोजगारमुखी बनाउन, उत्पादन र औद्योगिक विकास लगायतका विषयहरूमा बजेट परिमार्जनका विषयमा छलफल भइरहेको बताएका हुन् । 

उनले भने, ‘अब पुँजी र प्रविधिको विकास गर्ने बाटो लिनुपर्छ । हाम्रो पुँजी र प्रविधिले पुगेन भने बाहिरबाट आकर्षित गर्ने बाटो लिनुपर्छ तर मुख्य रूपमा आफूले विकास गर्ने हो । पुँजीको सिर्जना गर्ने हो, उत्पादनबाट विकास गर्ने हो । त्यस कामतिर लाग्नुपर्छ । यस सन्दर्भमा सरकारसँग मेरो कुरा भइरहेको छ । वर्तमान बजेटको सन्दर्भमा, त्यसको कार्यान्वयन र प्रभावकारिताका सन्दर्भमा, त्यसलाई प्रभावकारी ढङ्गले लैजान के के सच्याउनुपर्छ, ती कुराहरूको सन्दर्भमा कुरा गरिरहेको छु ।’

उनले कृषिमा आधारित उद्योग र अन्य उद्योगहरू कृषिको आधुनिकीकरण त्यस्तै औद्योगिक आधुनिकीकरण, उत्पादन र उत्पादकत्व वृद्धिमा प्रविधिको प्रयोग, उद्योगमा प्रविधिको प्रयोग लगायतका कामहरु कति गर्न सकिन्छ त्यसले औद्योगिकीकरण भविष्य निर्धारण गर्ने बताए । 

अध्यक्ष ओलीले नेपालमै रोजगारी सिर्जना गर्ने, व्यावसायिकता बढ्ने, सेवाका क्षेत्रहरू बढ्ने, त्यस्ता खालका उद्योग व्यवसायहरू स्थापना गर्नुपर्नेमा जोड दिए ।  उद्योग व्यवसाय अघि बढाउन कर्मचारी प्रशासनबाट अवरोध हुने चलन रहेको भन्दै अध्यक्ष ओलीले उद्योगहरूले फिर्ता पाउनुपर्ने भ्याट फिर्ता नपाएको बताए ।