काठमाडौँ, ३१ चैत । मोबाइल फोनमार्फत वित्तीय कारोबार गर्न दर्ता गरिएका डिजिटल खाताको संख्या विश्वमा २.१ अर्ब र मासिक सक्रिय प्रयोगकर्ता संख्या ५१ करोड नाघेका छन् । मोबाइलमार्फत हुने दैनिक कारोबार रकम वार्षिक १६ प्रतिशतले बढेर ४.६ अर्ब डलर पुगेको छ ।
विश्वभरका मोबाइल सेवा प्रदायकहरूको छाता संगठन ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन्स एसोसिएसन (जीएसएमए) ले हालै सार्वजनिक गरेको ‘द स्टेट अफ द इन्डस्ट्री रिपोर्ट अन मोबाइल मनी २०२५’ सर्वेक्षणअनुसार वार्षिक रूपमा हुने डिजिटल कारोबारको रकम पनि १० खर्ब डलर पुगिसकेको छ । मोबाइल फोन प्रयोग गरेर पैसा जम्मा गर्ने, पठाउने, प्राप्त गर्ने, भुक्तानी र अन्य वित्तीय कारोबार गर्न सकिने गरी सन् २००१ देखि मोबाइल मनीको सुरुवात भएको थियो ।
यसरी कारोबार गर्नेको संख्या १ अर्ब पुग्न १८ वर्ष लागे पनि पछिल्लो पाँच वर्षमा यो संख्या दोब्बर पुग्न जीएसएमएको सर्वेक्षणले देखाएको छ । सन् २०२४ मा गरिएको सर्वेक्षणअनुसार यस वर्ष मोबाइल फोनमार्फत १ खर्ब ८ अर्बभन्दा बढी कारोबार भएको थियो । त्यसको कुल मूल्य करिब १७ खर्ब डलर रहेको जीएसएमएले जनाएको छ । कारोबार संख्यामा २० प्रतिशत र कारोबार मूल्यमा १६ प्रतिशत वृद्धि भएको छ ।
‘मोबाइल फोनमार्फत वित्तीय कारोबार सेवा उपलब्ध भएका देशहरूमा यसले स्थानीय अर्थतन्त्र र देशको कुल गार्हस्थ्य उत्पादनमा सकारात्मक प्रभाव पारेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सन् २०१३ देखि २०२३ को बीचमा मोबाइलमार्फत हुने कारोबार १० प्रतिशत बिन्दुले बढ्दा देशहरूको कुल गार्हस्थ्य उत्पादनमा ०.६ देखि १.० प्रतिशतसम्म वृद्धि भएको पाइएको छ ।’
पूर्वी र पश्चिमी अफ्रिकामा नयाँ खाता खोल्ने र मासिक प्रयोगकर्ताको संख्या उल्लेखनीय रूपमा वृद्धि भइरहेको र पूर्वी एसिया प्रशान्त क्षेत्रमा पनि मोबाइल फोनमार्फत हुने कारोबार द्रुत गतिमा विस्तार भइरहेको प्रतिवेदनले औंल्याएको छ ।
नेपालमा भने डिजिटल वालेटको खाताको संख्या २०८१ असारसम्म २ करोड ३४ लाख ६० हजार पुगेको राष्ट्र बैंकको तथ्यांक छ । आर्थिक वर्ष २०८०/८१ मा डिजिटल वालेटबाट ३ खर्ब २ अर्ब रुपैयाँको कारोबार भएको छ भने उक्त वर्ष कुल कारोबार संख्या २९ करोड ५४ लाख छ ।
सुरुवाती चरणमा ‘मोबाइल मनी’ सेवा मुख्यतः पसलमा भुक्तानी गर्न, युटिलिटी बिल तिर्न, रेमिट्यान्स (पैसा पठाउन) र मोबाइल रिचार्जजस्ता सीमित सेवामा केन्द्रित रहे पनि अहिले सेवा प्रदायकहरूले क्रेडिट, बचत खाता, बिमाजस्ता अन्य वित्तीय सेवाहरू पनि दिन थालेका छन् । जीएसएमएका अनुसार सन् २०२४ को जुन महिनासम्ममा ४४ प्रतिशत सेवा प्रदायकले क्रेडिट सेवा उपलब्ध गराएका छन् । यो सबैभन्दा धेरै प्रयोग हुने अतिरिक्त सेवाका रूपमा देखापरेको छ ।
हाल विश्वका ४४ प्रतिशत सेवा प्रदायकहरूले क्रेडिट सेवा, ३० प्रतिशतले बचत र २८ प्रतिशतले बिमा सेवा प्रदान गर्छन् । मोबाइल मनी सेवाअन्तर्गत सबैभन्दा धेरै कारोबार एक व्यक्तिले अर्को व्यक्तिलाई पैसा पठाउने ‘पीटूपी’ प्रयोजनका लागि हुने गरेको देखिन्छ । यसमा गत वर्ष ६ खर्ब ८८ अर्ब डलर मूल्यको कारोबार हुँदा मोबाइल वालेट प्रयोग गरेर सुपरमार्केट, रेस्टुरेन्ट वा अनलाइन स्टोरमा पैसा तिरिने ‘मर्चेन्ट पेमेन्ट’ मा १ खर्ब ५ अर्ब डलर मूल्यको कारोबार भएको थियो ।
यीमध्ये सबैभन्दा द्रुत गतिमा बढिरहेको कारोबार भने अन्तर्राष्ट्रिय रेमिट्यान्स रहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२४ मा मोबाइलमार्फत ३४ अर्ब डलरको अन्तर्राष्ट्रिय रेमिट्यान्स आदानप्रदान भएको थियो ।
विश्वभर डिजिटल वित्तीय पहुँच विस्तारमा योगदान पुर्याइरहेको मोबाइल मनी सेवासम्बन्धी यस सर्वेक्षणमा जीएसएमएले नेपालका ई–सेवा र नमस्ते पेलाई पनि समावेश गरेको छ । मोबाइलमार्फत हुने थोक भुक्तानी (बल्क डिस्बर्समेन्ट) मा नमस्ते पेको उदाहरणमा दिँदै प्रतिवेदनमा भनिएको छ, ‘नेपालमा नमस्ते पेले आफ्नो विशेषता नै सस्तो लागतमा थोक भुक्तानी सेवा उपलब्ध गराउनु रहेको उल्लेख गर्दै आएको छ । नेपाल टेलिकमजस्ता सरकारी निकायले आफ्ना कर्मचारीको मासिक तलब भुक्तानीका लागि नमस्ते पे प्रयोग गरिरहेका छन् । यसले कारोबार मूल्य उल्लेख्य बढाइदिएको छ ।’
निजी स्वामित्वको ई–सेवाले ‘रिकरिङ बिल पेमेन्ट’ सेवामार्फत ग्राहकलाई बिमा, कर्जा र अन्य सेवाका लागि तोकिएको समयमा स्वतः बिल तिर्ने सुविधा दिँदै आएको प्रतिवेदनमा उल्लेख छ । दक्षिण एसियामा थोक भुक्तानीको कारोबार १९ प्रतिशतले वृद्धि भएको र यसले यो क्षेत्रको तीव्र डिजिटल वित्तीय विस्तारको संकेत गरेको प्रतिवेदनमा भनिएको छ । सन् २०२४ मा विश्वभर ९७ अर्ब डलर बराबरको थोक भुक्तानी भएको थियो भने बिल पेमेन्ट ९३ अर्ब डलर बराबर भएको छ ।
प्रतिवेदनअनुसार सन् २०२३ को अन्त्यसम्म मोबाइल मनी सेवा उपलब्ध रहेका देशको कुल गार्हस्थ्य उत्पादन मोबाइल मनी नभएको अवस्थाभन्दा ७ खर्ब २० अर्ब अमेरिकी डलरले वृद्धि भएको थियो । मोबाइल मनी सेवाले ती देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको छ, यस्तो सेवा उपलब्ध नभएको भए जीडीपीमा यति धेरै वृद्धि हुने थिएन ।
‘मोबाइल मनी सेवाले वित्तीय पहुँच विस्तार र आर्थिक वृद्धिमा ठूलो भूमिका खेलेको छ,’ हालै मात्र जीएसएमएको महासचिवको पदभार सम्हालेका विवेक बद्रीनाथले भनेका छन्, ‘यसको दीर्घकालीन सफलताका लागि सरल र नवप्रवर्तनमैत्री नीति, पहुँचयोग्य सेवा र सशक्तीकरणका कार्यक्रम आवश्यक छन् ।’
सन् २०२४ मा मोबाइलमार्फत भएको कारोबार
कुल खाता:२.१ अर्ब
मासिक सक्रिय प्रयोगकर्ता:५० करोडभन्दा धेरै
कुल कारोबार :१ खर्ब ८ अर्बभन्दा धेरै
कुल कारोबार मूल्य:१७ खर्ब डलर
अन्तर्राष्ट्रिय रेमिट्यान्स:३४ अर्ब डलर
स्रोत : जीएसएमए
कान्तिपुर
प्रतिक्रिया दिनुहोस्