Banner News

गठबन्धनले चुनावमा सत्ताको दुरूपयोग गर्यो : अध्यक्ष ओली



झापा, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले आइतवार सम्पन्न निर्वाचनमा सत्ताको चरम दुरुपयोग गरेको र आम जनतामा आतंक फिँजाएको भन्दे आक्रोस जनाउनुभएको छ ।

आज झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘बुथ कब्जा गर्ने, हत्या गर्ने र राज्य संयन्त्रको दुरूपयोग गर्ने प्रवृत्ति देखिए । आतंक फिजाउने प्रवृत्ति देखिए । हेलिकप्टरबाट गुन्डा ओसारेर प्रवृत्ति चिन्ताको विषय हो । सत्ता संरक्षित र सत्ता प्रायोजित गुन्डागर्दी र बुथ क्पाप्चार, हिंसाजस्ता कुराहरू अशोभनीय र निन्दनीय छ ।’

चुनावी परिणामबारे पछि विश्लेषण गर्ने उल्लेख गर्दै उहाँले चुनावमा जितेका उम्मेदवारहरूलाई बधाई र पराजित भएकालाई सहानुभूति रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘परिणामका बारेमा पछि विश्लेषण गरौंला । विजयीलाई बधाई र पराजित भएकालाई सहानुभूति छ । तर हराइएका र हराउन खोजिएकोमा असहमति राख्छु ।’

रवि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबारे पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै ओलीले यो मामुली कुरा भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘त्यो ठूलो कुरा होइन मामुली कुरा हो । धेरै उदय भनेर प्रचार प्रोप्रोगान्डा गरियो त्यो वास्तवमा तपाईंहरूको कृपा हो । देशलाई गतल बाटोतिर लैजाँदै हुनुहुन्छ । त्यो पार्टी ९राष्ट्रिय स्वतन्त्र पार्टी० को के गन्तब्य हो, के कार्यक्रम हो, के नीति हो थाहा छैन । हा हा हु हु मा त देश चल्दैन । हा हु मा देश लैजाने कुरा नेपालको हितमा छैन ।’