सम्पादकीय

असारे झरीमा पनि मतदाता उत्साही



इलाम, १३ असार । मेचीका तीन जिल्ला इलाम, पाँचथर र ताप्लेजुङका मतदाता चुनावका लागि पूर्ण रूपमा तयार देखिएका छन् ।

असारे झरीमा पनि उत्साहित मतदाताले लाइन लागेर परिचयपत्र लिएका छन् । इलामका बरबोटे गाविस भवनको मतदान केन्द्रमा भेटिनुभएका ७० वर्षीय रामचन्द्र पौडेलले भन्नुभयो, ‘यो उमेरसम्म आइपुग्दा थुप्रैपटक मतदान गरेको छु तर यस पटकको जस्तो उत्साहित कहिल्यै थिइनँ ।’

उहाँमात्र होइन, ६० वर्षीय भवानीप्रसाद घिमिरे पनि स्थानीय तहको चुनावप्रति उत्साहित हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘यो उमेरमा पनि छाता ओढेर मतदाता परिचयपत्र लिन लाइनमा बसेको छु । यसबाट बुझ्नुस् कि चुनावप्रति हामी कति उत्साहित छौँ ।’

इलाम नगरपालिका–५ का मतदाता ४५ वर्षीय प्रेमकुमार श्रेष्ठले इलाममा सडक र खानेपानीको समस्या रहेको बताउनुभयो । मतदान केन्द्रमा भेटिनुभएका श्रेष्ठले भन्नुभयो, ‘स्थानीय तहको चुनाव दैनिक जनजीवनसँग जोडिएको छ, त्यसैले हामी उत्साहित छौँ ।’

१० वटा स्थानीय तह रहेको इलाममा कुल एक लाख ९९ हजार २७४ जना मतदाता छन् । छ वटा गाउँपालिका र चारवटा नगरपालिका रहेको इलामको जनसङ्ख्या दुई लाख ९० हजार २५४ छ । जिल्लामा १४४ मतदानस्थल र २४९ मतदान केन्द्र छन् ।

नयाँ संरचनामा हुन लागेको स्थानीय तहको चुनावमा परिणाम कसको पक्षमा पर्छ भन्ने आकलन गर्न मुस्किल छ । तर, २०५४ सालको स्थानीय निकाय निर्वाचनपछि ०६४ साल चैत र २०७० साल मङ्सिरमा भएका संविधानसभा निर्वाचनको परिणामलाई लिएर विभिन्न अनुमान भइरहेका छन् ।

२०७० सालको संविधानसभा निर्वाचनमा इलामका तीन निर्वाचन क्षेत्रमध्ये १ र २ नेकपा एमाले तथा ३ काँग्रेसले जितेका थिए । ०५४ सालको स्थानीय निर्वाचनमा साविक ४८ गाविस र एक नगरपालिकाका अध्यक्ष–उपाध्यक्षमध्ये तीनवटामा काँग्रेस र बाँकी सबै एमालेले जितेको थियो ।

एक नगरपालिका र सात गाउँपालिका रहेको पाँचथरमा पनि चुनावी तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन कार्यालय पाँचथरले जनाए अनुसार ८० प्रतिशत मतदाताले आफ्नो परिचयपत्र लिइसकेका छन् भने बाँकीलाई मङ्गलबार वितरण गरिनेछ ।

पाँचथरका दुई निर्वाचन क्षेत्रमध्ये २०६४ साल र २०७० सालको निर्वाचनमा एमाले र काँग्रेस एक÷एकवटा क्षेत्रमा विजयी भएका थिए । ०५४ को स्थानीय निर्वाचनमा भने धेरै गाविसमा एमालेले विजय हासिल गरेको थियो ।

जिल्लाका साविक ४१ मध्ये २८ गाविसमा अध्यक्ष–उपाध्यक्षसहित र बाँकी ५ गाविसमा पनि अध्यक्ष पद एमालेले जितेको थियो भने ११ इलाकामध्ये सभापतिसहित आठमा एमाले र बाँकीमा काँग्रेस विजयी भएको थियो ।

ताप्लेजुङमा भने दलीय तालमेलले पनि चुनावको नतिजा फरक पार्ने सम्भावना देखिएको छ । ०७० सालको संविधानसभा निर्वाचनमा एमालेले यहाँका दुवै निर्वाचन क्षेत्रमा विजय हासिल गरेको थियो भने ०६४ सालको निर्वाचनमा १ नम्बर क्षेत्रमा काँग्रेस र २ नम्बर क्षेत्रमा एमाले विजयी भएका थिए ।

०५४ सालको स्थानीय निर्वाचनमा एमालेले सबै गाविसको नेतृत्व जितेको थियो भने ११ इलाकामध्ये एउटामा मात्रै काँग्रेस विजयी भएको थियो ।

मेची पहाडका तीन जिल्लामा काँग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खम्बुवान राष्ट्रिय मोर्चालगायतका दलले चुनावी प्रतिस्पर्धा गर्दैछन् । यीबाहेक केही स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् । गोरखापत्रमा समाचार छ ।