सम्पादकीय

बाथ–मुटु रोगीको भल्ब शल्यक्रिया निःशुल्क



काठमाडौं, १६ माघ । बाथ–मुटु रोगी भएका बिरामीले आगामी एक फागुनबाट भल्व शल्यक्रियाको निःशुल्क उपचार सेवा पाउने भएका छन् । बाथ–मुटु रोगीका लागि सरकारले निःशुल्क भल्व शल्यक्रिया उपचारको व्यवस्था मिलाएको छ ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २१औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले १५ देखि ६५ उमेर समूहका बिरामीलाई लक्षित गरी बाथ–मुटु रोगीको निःशुल्क भल्व शल्यक्रियाको घोषणा गरेका हुन् । उनले भने, ‘युवाहरूको स्वास्थ्यलाई ध्यानमा राखेर यो सेवा ल्याइएको हो ।

आगामी फागुन १ बाट सहिद गंगालाल हृदय केन्द्र र मनमोहन कार्डियो भास्कुलर सेन्टरबाट बाथ–मुटु रोगीका बिरामीले निःशुल्क भल्व शल्यक्रियाको सेवा पाउनेछन् । यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक बजेट दिनेछ । यसअघि बाथ–मुटु रोगीको भल्व मात्रै निःशुल्क फेरिँदै आएको थियो । युवाहरू विशेषगरी रोजगारीको सिलसिलामा विदेश जाने अर्थात् स्वदेशमै जोखिमपूर्ण काम गर्दा बाथ–मुटु रोगको बढी सिकार हुने गरेको चिकित्सकहरूले बताएका छन् ।

एक सय मुटुरोगीमध्ये पाँचजनामा बाथ–मुटु रोग देखा पर्ने गरेको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटुरोग विशेषज्ञ डाक्टर राजीव राजभण्डारीले ५ देखि १५ वर्ष उमेर समूहका मानिसमा बाथ–मुटु रोग बढी हुने बताए । उनका अनुसार यसको उपचारमा करिब एक लाख रुपैयाँ खर्च लाग्छ ।

१५ पुस ०५५ बाट सेवा सुरु गरेको सहिद गंगालाल हृदय केन्द्रले हालसम्म बाह्र लाख ९० हजार बिरामीलाई सेवा दिएको छ । यस आर्थिक वर्षमा केन्द्रबाट १६ हजार आठ सय ३२ जना बिरामीले सेवा लिएको शर्माले बताए । उनले यसै वर्षबाट तीनवटा अत्याधुनिक अप्रेसन थ्रिएटर र २६ शैयाको आइसियु सञ्चालनमा ल्याएको पनि जानकारी दिए ।

सरकारको विपन्न कार्यक्रममार्फत एक आर्थिक वर्षमा एक हजार आठ सय ४९ जना बिरामीले उपचार पाएका छन् । उनीहरूको उपचारका लागि राज्यको १७ करोड ९४ लाख ४९ हजार ४ सय ३६ रुपैयाँ रकम खर्च भएको शर्माले बताएको नयाँ पत्रिकामा समाचार छ ।