शैक्षिक

सरकार प्रचारको खेतीमाः स्वास्थ्य संस्थाहरु औषधि अभावमा



महोत्तरी १७ माघ ।सरकारले स्वास्थ्य क्षेत्रमा प्रगति भैराखेको वताइरेको छ । युवा स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्यको क्षेत्रमा केही सुधार पनि गरेका छन । तर, उनले गरेको र भनेको सुधार व्यवहारमा भने देखिएको छैन ।

गाउँ–गाउँका जनताहरु सामान्य सिटामोलको अभावमा स्वास्थ्य सेवाबाट पाउँन नसकिराखेको समाचारहरु आइरहेका छन । जिल्लाका गाउँका स्वाथ्य संस्थाहरु धमाधम औषधि अभावमा बन्द भएको समाचारहरु आएका छन ।

केही समय अघि गोरखा जिल्लाका स्वास्थ्य संस्थामा औषधी अभाव भएको समाचार आएको थियो । अहिले महोत्तरी जिल्लामा औषधि अभावले त्यहाँका स्वास्थ्य संस्थाहरु धमाधम बन्द भएका समाचारहरु आइरहेका छन । महोत्तरी जिल्लाका स्वास्थ्य संस्था औषधि अभावमा सुनसान देखिन थालेका छन् ।

सरकारले स्वास्थ्य संस्थामा नियमित स्वास्थ्यकर्मी बस्ने र निःशुल्क औषधि पाइने प्रचार गरिरहे पनि जिल्लाको अवस्था त्यस्तो छैन । सरकारले औषधि उपलब्ध गराउन सरकारको तर्फबाट कुनै पनि किसिमको कसर वाँकि नराखेको वताइरहेको छ, तर गाउँका धेरै जसो स्वास्थ्य औषधि नभए संस्था नै बन्द गर्नु परेको स्थानीय स्वास्थ्यकर्मीहरु वताउँछन ।

गाउँका स्वास्थ्य संस्थामा न औषधि पाइन्छ, न सल्लाह दिने स्वास्थ्यकर्मी नै भेटिन्छन् । नियमित अनुगमन नहुँदा स्वास्थ्य संस्था बेकामेजस्ता भएका छन् ।

केन्द्र र क्षेत्रबाट औषधि नआएको स्थानीयस्तरमा खरिद गर्नुपर्ने औषधिको बोलपत्र पनि समयमा नगरेका कारण जिल्लामा तीन महिनादेखि औषधि अभावमा जिल्लाभरका ७६ स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा चहलपहल देखिँदैन ।

औषधि हुँदा दिनहुँ तीे स्वास्थ्य संस्थामा बिरामीको भीड लाग्ने गर्दथ्यो । तर औषधि अभाव र स्वास्थ्यकर्मीको अनुपस्थितिका कारण यहाँका स्वास्थ्य संस्थाबाट उपचार सेवा पाउन सर्वसाधारणलाई मुस्किल भएको छ ।

दैनिक सरदर ३०० भन्दा बढी बिरामी आउने जिल्लाभरका स्वास्थ्य संस्थामा औषधि अभावसँगै बिरामीको सङ्ख्या पनि घट्दो छ ।