पर्यटन

रारामा मन्त्रिपरिषद् बैठक



काठमाण्डौ,२१ माघ ।नेपालको पर्यटनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले मध्यपश्चिमको सुन्दर पर्यटकीय नगरी रारामा पहिलोपटक मन्त्रिपरिषद् बैठक गर्ने तयारी गरेको छ ।

समग्र देशको पर्यटनलाई सकारात्मक सन्देश दिन उक्त क्षेत्रमा छिट्टै मन्त्रिपरिषद्को बैठक राख्ने प्रधानमन्त्री दाहालले बताए । प्रधानमन्त्रीले भने “पर्यटन व्यवसायीको मागअनुसार मैले रारामा एउटा क्याबिनेट राखेर विश्वव्यापी प्रचार गर्ने तयारी गरेको छु, म दुई पटक रारा पुगेको छु, त्यहाँ अन्तर्राष्ट्रियस्तरको होटल बनाउने प्रक्रिया पनि अघि बढाइँदैछ, रारा पुग्ने बाटो पनि बनिरहेको छ ।”

प्रधानमन्त्रीकै अध्यक्षताको पर्यटन परिषद्को बैठक छिट्टै बसेर पर्यटन विकासका एजेण्डा सम्बोधन गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्रीले जनाए।

कार्यक्रममा माओवादी केन्द्रका सङ्गठन विभाग प्रमुख रामबहादुर थापाले नेपाललाई आर्थिक रुपमा आत्मनिर्भर बनाई राष्ट्रिय अर्थतन्त्रको विकासका लागि सरकारले आवश्यक नीति र योजना ल्याउनु पर्ने खाँचो औँल्याए।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटा, पर्यटन व्यवसायी दीपक महत, गणेश सिंखडा, गोपालबाबु श्रेष्ठ, दामोदर घिमिरे लगायतले मुलुकको पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार विकासमा जोड दिनुपर्ने उल्लेख गरे।