अर्थ

शिक्षा स्नातक उत्तीर्णःपेशा कपाल काट्नेःकमाई मासिक ५० हजार



रोल्पा १ फागुन । काम कहिले पनि सानो वा ठूलो हुँदैन भन्ने मान्यता राख्ने रोल्पाका २७ वर्षीय जीवन वलीले स्नातक उत्तीर्ण गरेर कपाल काट्ने पेसा अङ्गाल्दै आएका छन् ।

स्थायी ठेगाना बागमारे–१ दाङ भएका वलीले सरस्वती प्रावि बागमारे दाङबाट अक्षर आरम्भ गरेको भएपनि करिव पाँच वर्ष पहिले मात्रै पद्मोदय पब्लिक उच्च मावि भरतपुर दाङबाट स्नातक उत्तीर्ण गरेका हुन ।

वलीले केही वर्ष यता रोल्पामा हेयर कटिङ सञ्चालन गर्दै आउनुभएको छ । एकाबिहानै होस् वा राति अबेरसम्म, उहाँको पसलमा सेवाग्राहीको बाक्लो भीड देख्न सकिन्छ । मीठो बोली र सुमधुर मुस्कानले ग्राहकलाई हरपल स्वागत गर्ने वलीले खासखास समयमा मासिक रु। ५० हजारभन्दा बढी आम्दानी गर्छन । अन्य समयमा पनि मासिक ३० हजारभन्दा बढी नै आम्दानी हुने गरेको उनले वताए ।

सामान्य परिवारमा जन्मिएका वलीको बाल्यकाल सुखद् नै रह्यो । परिवारको कान्छो सदस्य भएकै कारण सबैबाट माया ममता पाएका वलीलाई सानैदेखि स्वाबलम्बी बन्ने रहर थियो ।

वलीले परिवारको करकापमा तीन पटक जति सरकारी विद्यालयमा रिक्त रहेको शिक्षक पदका लागि आवेदन दिनुभयो र परीक्षामा सहभागी हुनुभयो तर सफल हुन सक्नुभएन । त्यसपछि असफलताको तीतो अनुभूति बोकेर २०६६ सालतिर काठमाडौँ हानिनुभयो ।
आफ्नो बाल्यकालको स्मरण गर्दै वलीले भने – “म पढाइमा पनि त्यति नराम्रो थिइनँ । विद्यालय उमेरदेखि नै प्रायःजसो द्वितीय वा तृतीय स्थानमा आउँथे । तर पढाइमा राम्रो भएरमात्र जागिर खान नसकिने भएपछि काठमाडाँगएँ ।

” यसरी साथीभाइ कसैलाई कुनै किसिमको जानकारी नै नदिई घरपरिवारको सल्लाहमा सुटुक्क काठमाडौँ पुगेका वलीले निरन्तर छ महिनासम्म

काठमाडौँको सल्मान हेयर कटिङ सेन्टरमा कपाल काट्ने र मसाज गर्ने तालिम लिए । वलीका अनुसार त्यो समयको सबैभन्दा सजिलो पेसा हेयर कटिङ थियो र यो पेसा अपनाउनु रहरभन्दा पनि बाध्यता थियो ।
परिवारमा कसैले पनि नगरेको काम भएको हुँदा उनलाई सुरुसुरुका दिनमा निकै कष्ट झेल्नुप¥यो । एकजना काठमाडौँका ठूलो व्यापारीको दाह्री र अर्का एक सरकारी कर्मचारीको कपाल काट्दा बिग्रियो र दुबै जना बेस्सरी रिसाएको उनको मानसपलटमा अझै ताजै छ ।
यसरी करिव छ महिनासम्म सिप सिकेका वलीले काम गरेको ५० प्रतिशत रकमबाट करिव सात महिनामा ५० हजार जति रकम बचत गरेर दाङ फर्कनुभयो र आफन्तबाट ३० हजार सहयोग लिएर कुल ८० हजारमा दाङमा आफ्नै सैलुन सुरु गरे ।

केही महिना दाङमा व्यवसाय गरेका वलीलाई शुभचिन्तकले रोल्पामा जान सल्लाह दिए । सोही अनुरुप उहाँ २०६७ सालतिर रोल्पा लागे।

पहिलो पटक प्रमुख जिल्ला अधिकारी आफ्नो पसलमा कपाल काट्न आउँदा आपूmलाई निकै खुसीको अनुभूति भएको उनले स्मरण गरे।
मन, वचन र कर्मले कटिबद्ध बन्न सके स्वदेशमै रोजगार पाउन सकिने उनको धारणा छ ।