Banner News

नयाँ शक्ति मधेशी मोर्चाका नेताहरुले जे–जे भन्यो त्यसैमा सही छाप गर्न जन्मेको पार्टी होइन



निर्मल कुमार भट्टराई केन्द्रीय परिषद सदस्य–नयाँ शक्ति पार्टी

डा बाबुराम भट्टराई र उपेन्द्र यादवको संयुक्त बक्तव्यको किन विरोध गरेको तपाईहरुले ?

हेर्नुस्, त्यो वक्तव्यले जनतामा ठुलो भ्रम पैदा गरेको छ । हो, मधेशका केही मुद्धाहरुको सम्बोधन गरेर संविधानको सर्वस्वीकार्य ता बढाउनु पर्छ । त्यो सबैले भनेको कुरा हो । तर मधेशी मोर्चाका केही नेताहरुले विषयबस्तुलाई यसरी प्रस्तुत गरिरहेछन् कि यो देशका मालिक उनीहरु हुन् र नेपाली जनता चाहिँ उनीहरुका दास ।

उनीहरुले जे जे भन्छन्, त्यही सबैले मान्न वाध्य हुनु पर्ने । नयाँ शक्ति पार्टी त प्रत्यक्ष लोकतन्त्रलाई आत्मसात गरेको पार्टी हो । लोकतान्त्रिक पार्टीले जनताको भावनाको सम्मान गर्न सक्नु पर्दछ । मधेशी मोर्चाको विगत र वर्तमान प्रति नेपाली जनता सन्तुष्ट छैनन् । यो पार्टी मधेशी मोर्चाले जे जे भन्यो त्यसैमा सही छाप गर्न जन्मेको पार्टी त होइन । यही कुरा प्रति हाम्रा संयोजकलाई ध्यानाकर्षण गर्न यो आग्रह गरिएको हो ।

नयाँ शक्ति स्थानीय तहको निर्वाचनको पक्षमा किन नदेखिएको त ? हारिन्छ भन्ने डरले ?

पहिलो कुरा, हामी स्थानीय तहको निर्वाचनको विराधी होइनौ । निर्वाचनले मात्र जनताको सार्वभौमिकतालाई सुनिस्चित गर्छ भन्नेमा हामी प्रतिबद्ध छौ । दोश्रो, हामीलाई अहिले जनताको जे जस्तो रेस्पोन्स छ, त्यसबाट चुनावमा नयाँ शक्तिले राम्रै परिणाम ल्याउछ भन्ने विश्वास गर्न सकिन्छ ।

डा. भट्टराई र उपेन्द्र यादवको यो कदम निर्वाचन भाँड्ने खेल त होईन ?

उहाँहरु प्रति त्यो स्तरको शंका गर्ने ठाउँमा म पुगेको छैन । तर देशलाई निर्वाचनमा जान नदिने, विद्यमान अस्थिरता झन बढाउने ,संविधान कार्यन्वयन हुन नदिने, सहमति हुन नदिने र देशलाई दलदलमा फसाएर आफ्नो निहित स्वार्थ पूरा गर्ने खेल कुनै न कुनै रुपमा भई नै रहेको छ । नयाँ शक्ति पार्टी त्यसमा चनाखो रहन सकेन भने त यो पार्टी विवाद र अप्ठ्यारोमा पर्न सक्छ भन्ने हाम्रो सामुहिक चिन्ता हो ।

तपाईको पार्टीभित्र विवादै विवाद देखिन्छ । यो पार्टीको के भविश्य होला र ?

यो तपाईले महत्वपूर्ण प्रश्न गर्नुभो । यहाँलाई के सम्झाउँ भने नयाँ शक्ति एउटा लोकतान्त्रिक पार्टी भएकाले बहस विवाद हुनु अनिवार्य छ । जति विवाद उति प्रगति । एउटा चलायमान पार्टीमा यस्तो भई रहन्छ । यस पार्टीको उज्ज्वल भविश्यको संकेत पनि यही हो ।

केही मानिसले नयाँ शक्ति डा. भट्टराईको प्राइभेट कम्पनी कै रुपमा मात्र चलेको छ भन्छन् नि ?

यो सोचाइमा सत्यता छैन । यो पार्टी उहाँको प्राइभेट कम्पनी भए त्यसमा म किन बस्नु पर्यो, अरु किन बस्नु पर्यो । अरु त अरु हिसिला नै किन बस्नु पर्यो । त्यसकारण यो पार्टी सबै सम्मानपूर्वक बस्ने एउटा लोकतान्त्रिक चौतारी बनाउने प्रयत्नमा हामी छौं ।

तपाईहरु पार्टीभित्रका विवाद जथाभावी बाहिर छताछुल्ल पार्नुहुन्छ । तपाईहरुलाई पार्टीले कारवाही गर्यो भने नि ?

हाम्रो पार्टीमा विचारको स्वतन्त्रता छ । विचार राखेवापत कसैलाई किन कारवाही गर्ने । फेरि हाम्रो पार्टीमा सहमति , असहमति, विवाद , कारवाही सबै पारदर्शी हुन्छन् । केही भए तपाईले जरुर थाहा पाउनुहुन्छ ।