मनोरञ्जन

थिएटर मलमा श्रीमान् श्रीमतीको टसल



काठमाडौं । सुनधरास्थित काठमाडौँ मलका रहेको नाटकघर थिएटर मलमा फागुन १३ गतेदेखि केदार श्रेष्ठको लेखन, परिकल्पना र निर्देशन रहेको नाटक ’मान भर्सेस मती’ मञ्चन भइरहेको छ ।

अघिल्लो वर्ष एक महिना मात्र मञ्चन गरिएको नाटकलाई दर्शकले औधि मन पराएका कारण पुनः मञ्चन गरिएको हो ।

कलाकारद्वय आकाश मगर र प्रेमवर्षा खड्काले ‘मान भर्सेस मती’ मा रहेको केन्द्रीय द्वन्द्वलाई अभिनयमा जिबन्तता दिएका छन् ।

उनीहरू नाटकमा श्रीमान् श्रीमतीको भूमिकामा छन् र आपसको द्वन्द्वलाई प्रतीकात्मक रूपमा ‘मान भर्सेस मती’ नाम दिइएको हो ।

हरेक दिन हामीले घर समाजमा दख्ने घटना, पात्र र प्रवृत्ति नै नाटकमा देख्न सकिन्छ । पारिवारिक द्वन्द्व नाटकको मूल विषय हो । सम्बन्ध विश्वासमा चलेको हुन्छ । जब विश्वासमा अविश्वासको भाइरस छिर्छ तब सम्बन्ध मक्किन थाल्छ । परिवार चल्न पनि विश्वासको खाँचो पर्छ । शङ्काले लंका त जलाउँछ भने सुखी परिवारलाई जलाएर खरानी बनाउन बेर लाग्दैन । नाटक ‘मान भर्सेस मती’ ले यही विश्वास र अविश्वासबीच फेरबदल हुने पारिवारिक सम्बन्धको रुपरेखा कोर्ने प्रयास गरेको छ ।

मध्यम वर्गीय सामान्य परिवारको अति सामान्य कथामा नाटक बुनिएको छ । निश्चित समय र सोच बोकेका पात्रको सामान्य व्यवहारलाई नै दृश्यात्मक बनाइएको छ । नाटकमा एक श्रीमती छिन्, उनका श्रीमान् छन् । परिवारिक बोझले थिचिएको श्रीमान् जीवन निर्वाहका लागि फिल्म क्षेत्रसँग सम्बन्धित कम्पनीमा काम गर्छ । श्रीमती सिरियल हेरेर बसिरहेकी हुन्छे । उसलाई लाग्छ श्रीमतीले बेवास्ता गर्दैछे । यति भएपछि के निहुँ चाहियो र रु उनीहरुबीच भनाभन हुन्छ । हुँदा हुँदा लोग्ने स्वास्नीलाई अर्को केटासँग लठारिएको देख्न थाल्छ, स्वास्नी लोग्नेलाई अर्की महिलासँग सल्किएको देख्न थाल्छे । ‘भाइ फुटे गवार लुटे’ भने झैँ उनीहरूको झगडाको फाइदा बाहिरकाले उठाउन खोज्छन् । तराईबाट कलाकार बन्ने सपना बोकेर आएको रजनीरुपेश र भाइ त्यस्ता पात्र हुन् ।

दिनभर सिरियल हेरेर बस्ने श्रीमती श्रीमानलाई पनि सिरियलमा केटी खेलाउने पुरुष पात्रसँग तुलना गर्न पुग्छे, शंकालु बन्छे । अन्तिममा जब उनीहरूले आफूरुबीचको झगडा असमझदारीका कारण भएको हो भन्ने थाहा पाउछन, तब समस्या सुल्झिन्छ । तर ’लोग्नेस्वास्नीको झगडा परालको आगो’ भने झैँ त्यो सधैँलाई भने रोकिन्न भलै मान भर्सेस मतीमा एउटा सहमति जुटेको किन नहोस् । बुधवारबाहेक ५ः३० बजे सुरु हुने नाटक चैत ५ गतेसम्म चल्ने छ ।