Banner News

मधेसी मोर्चा राजनीतिक पार्टी हो कि गैर राजनीतिक संगठन ?



काठमाण्डौ २३ फागुन । नेकपा एमाले पार्टी मेची–महाकाली अभियानमा छ । यो अभियान एमालेले तत्काल तय गरेको होइन,सबैलाई थाह छ धेरै पहिले तय गरेको हो । तर, एमालेको यो अभियानलाई विथोल्ने योजनाका साथ मधेसी मोर्चाले तत्काल विरोध र बन्दको कार्यक्रम तय गरेर एमालेसंग मुठभेडको राजनीति गर्न अघि सरेको छ ।

मोर्चाको यो अराजनीतिक र अलोकतान्त्रिक कार्यशैलीको मानवअधिकार कर्मी, र स्वय प्रधानमन्त्री पुष्पकमल दाहालले समेत विरोध गर्दै त्यसो नगर्न भनिरहेका छन् । उनीहरुको आग्रहलाई समेत वेवास्ता गर्दै जर्वजस्त एमालेसंग मुडभेड गर्ने योजनाका साथ उनीहरुले आजैबाट तराईमा विरोध बन्दको कार्यक्रम आयोजना गरेका छन् ।

मोर्चाका नेताहरुको यो कार्यशैली र चरित्रले मधेसी मोर्चालाई राजनीति पार्टीको घेराबाट धेरै पर धकेलिदिएको छ । यस्तो अलोकतान्त्रिक संस्कार, गैरराजनीतिक चरित्रले मोर्चा लोकतान्त्रिक राजनैतिक पार्टी होइन , यो गैर राजनीतिक पार्टी हो भन्ने कुरा उसका अराजनीतिक गतिविधिहरुले स्पष्ट पारिदिएको छ ।
मधेसी मोर्चाका कार्यकर्ताले राजविराज, कञ्चनपुर, भारदह लगायतका क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले पूर्व(पश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले शम्भुनाथ नगरपालिकामा झण्डै आधा दर्जन सवारी तोडफोड गरेका छन् । प्रहरीले स्कर्टिङ गरेर लैजान लागेको गाडीमा बन्दकर्ताले तोडफोड गरेका हुन् ।
एमालेको मेची–महाकाली अभियानको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरी जिल्लामा यातायात ठप्प पारेको छ ।

मोर्चाको बन्दको कारण सप्तरीमा लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेको छैन । एमालेले अभियान कार्यक्रमअन्तर्गत राजविराजको औद्योगिक क्षेत्रमा गर्ने आमसभालाई बिथोल्नका लागि चक्काजाम गरिएको मोर्चाले जनाएको छ ।
साथै मोर्चाले सोमबार बिहान लाँठी जुलुस समेत प्रदर्शन गरेको छ । उता स्थानीय प्रशासनले कुनै अप्रिय घटना हुन नदिन शान्ति सुरक्षा कडा पारेको जनाएको छ ।