Banner News

दुई सरकारी कार्यालय र मानवअधिकार आयोगको गाडी तोडफोड



सप्तरी (राजविराज), २४ फागुन । प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन तीव्र पारेका छन् ।

प्रहरीका अनुसार मोर्चाका कार्यकर्ताले राजविराज नगरपालिका कार्यालय र नेपाल टेलिकमको कार्यालयमा तोडफोड गरेका छन् । हजारौँको सङ्ख्यामा आएका प्रदर्शनकारीले अहिले जिल्ला प्रशासन कार्यालय घेरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरी घेराउ गर्नाका साथै दुई सरकारी कार्यालयमा तोडफोड गरेका छन् ।

‘कार्यकर्ताको मृत्यु हुँदा कुनै सहयोग नगरेको’ जनाउँदै प्रदर्शनकारीले राष्ट्रिय मानवअधिकार आयोगको गाडीसमेत तोडफोड गरेको उपस्थित कर्मचारीले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय अगाडि राखिएको आयोगको बा ७ च ७४७३ नंको गाडीमा प्रदर्शनकारीले तोडफोड गरेको बताइएको छ । गाडी तोडफोडपछि त्यसमा रहेका चार जना कर्मचारी जिल्ला अदालतमा सुरक्षाका लागि बसेका छन् । अहिले जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालयलगायत सरकारी कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रदर्शनकारीले घटनाको छानबिन, मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार, मृतकलाई सहिद घोषणा र दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै नगर परिक्रमासमेत गरेका छन् ।