राजनीति

शिक्षा मन्त्रालयद्वारा निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण माग



काठमाडौँ, १३ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ ।

दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि मन्त्रालयले आयोगसँग दलको विवरण मागेको हो ।

मन्त्रालयमा दलीय आबद्धता भएका शिक्षकहरूको विषयमा परेका उजुरीहरूको विवरण यकिन गरी कारबाही अघि बढाउन आयोगको अभिलेखमा भएको दलका कार्यसमितिको विवरण मागिएको शिक्षामन्त्री सुमना श्रेष्ठको सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगबाट विवरण प्राप्त भएपछि मन्त्रालयले आफूसँग भएको शिक्षक, कर्मचारीहरूको विवरण र राजनीतिक दलका कार्यकारिणी समितिका पदाधिकारीहरूको विवरण भिडाएर हेर्नेछ । त्यसरी भिडाउँदा शिक्षक, कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा बसेको पाइएमा शिक्षा ऐन अनुसार पदबाट हटाउनेसम्मको कारबाही प्रक्रिया अगाडि बढाउने मन्त्रालयले जनाएको छ ।