शैक्षिक

स्थानीय तह निर्वाचनका लागि करिब २१ हजार मतदान केन्द्र



काठमाडौँ, २ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुनगइरहेको स्थानीय तहको निर्वाचन गराउन करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी गरेको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचन गराउनका लागि अहिले मतदान केन्द्र छनोट कार्य भइरहेकाले करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी भएको बताउनुभयो ।

उहाँले प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्लास्थित सुरक्षाप्रमुख, जिल्ला निर्वाचन कार्यालय, सम्बन्धित नगरपालिका तथा गाउँपालिकाका प्रमुख र राजनीतिक दलका प्रतिनिधिलाई मतदान निर्धारण गर्न दिएको बताउनुभयो ।

‘‘अहिले जिल्लामा मतदान केन्द्र निर्धारण गर्ने कार्यभइरहेको छ’’ उहाँले भन्नुभयो–‘‘यही १० गतेसम्म सबै निर्वाचन कार्यालयलाई मतदान केन्द्र निर्धारण गरेर हामीलाई पठाउन भनेका छौ ।’’

उहाँकाअनुसार मतदातालाई पायकपर्ने, भिड नहुने र सुरक्षित ठाउँलाई मतदान केन्द्र निर्धारण गर्न आयोगले निर्देशन दिएको छ ।

सरकारले स्थानीय तहको सङ्ख्या निर्धारण गरेपनि आयोगले मतदान गर्नका लागि मतदान केन्द्र तोक्न निर्देशन दिएको हो ।

स्थानीय तहको निर्वाचन बिहान– ७ बजेदेखि साँझ ५ बजेसम्म हुने आयोगका सहसचिव समेत रहनुभएका शर्माले जानकारी गराउनुभयो । रासस