शैक्षिक

काभ्रेपलाञ्चोकमा एक सय ८९ मतदान केन्द्र



बनेपा, ४ चैत । स्थानीय निकायको निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा एक सय ८९ मतदान केन्द्र कायम भएको छ ।

प्रजिअ शिवप्रसाद सिंखडाको संयोजकत्वमा आज धुलिखेलमा बसेको मतदान केन्द्र सिफारिस समितिको बैठकले मतदान केन्द्र कायम गरेको जिल्ला निर्वाचन कार्यालय धुलिखेलले जनाएको छ ।

“विगतका निर्वाचनको मतदान केन्द्रलाई आधार मानेर नै मतदान केन्द्र कायम गरेका हौँ”, जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकरप्रसाद पोखरेलले भने । उनका अनुसार जिल्लामा चार मतदान केन्द्र नयाँ थपिएको छ । अब मतदान केन्द्रअनुसार कर्मचारी व्यवस्थापनको काम हुने छ ।

विसं २०७० मा भएको संविधानसभाको निर्वाचनमा काभ्रेपलाञ्चोकमा एक सय ८५ मात्रै मतदान केन्द्र थियो ।

आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि नमोबुद्ध नगरपालिकामा नमोबुद्ध प्राथमिक विद्यालय केन्द्र, कुरुवास र धुलिखेल नगरपालिका–१२ मा बथलादेवी, निमावि केन्द्र तथा बनेपा नगरपालिका–३ र १३ मा एक-एक केन्द्र नयाँ मतदान केन्द्र थप भएको छ ।

जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् ।