Banner News

प्रदेश कमिटीसँग समन्वय गरी एमालेले प्रदेश २ मा सभा गर्ने



काठमाडौँ, ७ चैत । नेकपा एमालले मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत बाँकी प्रदेश नं २ का जिल्लामा पनि सभा गर्ने भएको छ ।

पार्टीको केन्द्रीय सचिवालयको आज बसेको बैठकले सम्बन्धित प्रदेश कमिटीसँग समन्वय गरी कार्यक्रम तय गर्ने निर्णय भएको एमालेका सचिव एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

एमालेले सिरहा, धनुषा, रौतहटलगायत मध्यतराईका जिल्लामा संविधान कार्यान्वयन, निर्वाचन राष्ट्रिय एकता र सद्भावको नारासहितको सो अभियान सञ्चालन गर्ने भएको हो ।
गत फागुन २१ गते झापाबाट सुरु भएको सो पार्टीको अभियान फागुन २३ गते सप्तरीको राजविराज पुग्दा हिंसात्मक घटना भएपछि मध्यतराईका जिल्लाका कार्यक्रम स्थगन भएका थिए । अभियान यही चैत ५ गते कञ्चनपुरमा समापन भएको थियो ।