काठमाडौँ, २९ वैशाख । भारतको एयर इन्डियाको उडानमा भइरहेको अवरोध हटेको छ । विमान सेवाका कर्मचारीले हडताल फिर्ता लिएको र उडान सेवा नियमित शुरु भएको एयर इन्डियाले जनाएको छ । यसअघि कर्मचारीबाट अकस्मात बिरामी बिदा माग भएपछि बुधवार र बिहीवार दुई दिन लगातार उडानमा अवरोध भएको थियो ।
वार्ता र छलफलपछि चालक दलका सदस्यले आफ्नो विरोध अन्त्य गरेको श्रम कानून कार्यान्वयनको निरीक्षण गर्ने सरकारी निकाय भारतीय श्रम आयोगले जनाएको छ । त्यस्तै एयरलाइन्सले यसअघि बर्खास्त गरेका २० भन्दा धेरै कर्मचारीलाई काममा फर्काइएको छ ।
आयोगले कर्मचारीका मागबारे थप छलफल गर्न आउँदो मे २८ तारिखमा अर्को बैठक गर्न पनि सुझाव दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ऋणमा डुबेपछि सन् २०२२ मा भारतीय ध्वजावाहक विमान सेवा टाटा समूहको स्वामित्वमा पुगेको थियो ।
टाटा समूहले कर्मचारीको भर्ती र पदोन्नती जस्ता विषयमा नयाँ नीतिहरु सार्वजनिक गरेसँगै कर्मचारीले त्यसको विरोध गरेका थिए । उनीहरुको विरोधका कारण लगातार दुई दिन गरी कम्तिमा एक सय ७५ वटा उडान ढिलाइ तथा रद्द गर्नुपरेको थियो ।
प्रतिक्रिया दिनुहोस्