Banner News

राष्ट्रपति सीसंग भेटः चीन भ्रमण स्थगित गर्न देउवाको दाहाललाई सुझावः भ्रमण स्थगित नगर्ने मूडमा दाहाल



काठमाण्डौ,९ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल यही साता चीन भ्रमणमा निस्कने भएका छन् । प्रधानमन्त्री दाहालको चीन भ्रमणले मुलुकको राजनीतिकको तापमान गर्माएको छ । उनको चीन भ्रमणलाई अर्थपूणरुपमा हेर्न थालिएको छ । भारतको सहयोगमा प्रधानमन्त्री भएका दाहालले अन्तत आफ्नो शासनकालको अन्तिम समयमा चीनप्रति एकाएक देखाएको लगावले मुलुकको राजनीतिलाई तरगित पारिदिएको छ ।

यसबीच उनको चीन भ्रमण छोट्याउन वा स्थगित गर्न सत्ताझेदार दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सुझाव दिएको बुझिएको छ । तर, प्रधानमन्त्री दाहालले चीन भ्रमण छोट्याउने वा स्थगित नगर्ने मूडमा रहेको स्रोतले जानकारी गरायो ।

देउवाले चीन भ्रमण छोट्याउन वा स्थगित गर्न प्रधानमन्त्री प्रचण्डलाई मंगलबार साँझ आग्रह गरेका हन् । उनले आइजिपी नियुक्तिसम्बन्धी सर्वोच्चको फैसला, निर्वाचनका लागि राजनीतिक वातावरण निर्माण, कार्यबाहक प्रधानमन्त्री कसलाई दिने भन्ने विवादलगायतका कारण भ्रमण स्थगित गर्न हिजो टेलिफोनमा देउवाले आग्रह गरेको स्रोतले जानकारी गरायो । स्रोतका अनुसार देउवाले एक उपप्रधानमन्त्रीलाई प्रधानमन्त्रीको प्रतिनिधित्व गर्ने गरी बोआओ मञ्चको सम्मेलन र बेइजिङ पठाउन आग्रह गरेका हुन् चीन भ्रमणका दाहाल दुई महत्वपूर्ण कार्यक्रममा सहभागी हुने भएका छन् । प्रधानमन्त्रीले १२ चैतमा हाइनान प्रान्तस्थित बोआओ मञ्चको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री प्रचण्डले १४ चैतमा बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दुईपक्षीय औपचारिक वार्ता गर्नेछन् । आकस्मिक रूपमा भ्रमण तय भएका कारण राष्ट्रपति सीसँग १५ मिनेट मात्रै औपचारिक कार्यक्रम तय भएको चिनियाँ दूतावासले प्रधानमन्त्रीलाई जानकारी दिएको बुझिएको छ ।