Banner News

पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले भने– अहिले निर्वाचनको माहोल तयार हुँदैछ



काठमाडौं,११ चैत्र । पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानीय तहको निर्वाचनको मतगणना मतदान केन्द्रमै गर्न मिल्नेगरि स्थानीय तह निर्वाचन व्यवस्थान ऐनमा भएको प्रावधानलाई संशोधन गर्नुपर्ने सुझाव दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको निर्वाचनका चुनौतीहरू विषयक साक्षात्कारमा पूर्व प्रमुख आयुक्त उप्रेतीले निर्वाचन सम्पन्न भएलगत्तै मतपरिणाम निर्वाचन केन्द्रमै गणना गर्नुपर्ने बताएका हुन् ।
उनले भने,‘मतपरिणाम अन द स्पट गणना गर्दा राम्रो हुन्छ, मतपत्र बोकेर सदरमुकाम धाउने काम गर्नुहुँदैन, यस्तो भयो भने तीन घण्टाभित्रै निर्वाचनको परिणाम आउँछ ।’
उनले विश्वका धेरै देशहरूमा स्थानीय तहको निर्वाचनको मतगणना निर्वाचन केन्द्रमै गरिने गरेको उदाहरण पेस गर्दै भने,‘हाम्रो देशमा पनि अब यसलाई लागु गर्नुपर्छ ।

’ चुनाव आउने अब जम्मा ५० दिन बाँकी रहेकोले निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्नको लागि चुनौतीका बक्रेल्ती पर्खाल रहेका छन् ।’ पहिलो र प्रमुख चुनौती भनेको दलीय सहमति कायम गर्नुपर्छ, निर्वाचन सबैलाई चाहिएको छ, यसको लागि संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरू चुनावमा भाग लिन जरुरी रहेको उनको भनाई थियो ।

धेरै लामो समयपछि स्थानीय तहको निर्वाचन हुन गैरहेकोले उक्त निर्वाचन ऐतिहाँसिक निर्वाचन हुने बताउँदै उनले भने,‘८५ लाख नयाँ मतदाता छन्, त्यसैले कुनै पनि अवस्थामा निर्वाचन रोक्नुहुँदैन्, तर रोक्नुहुँदैन भन्ने नाममा लोकतन्त्रमा जबरजस्ती गर्ने कुरापनि आउँदैन् ।’
उप्रेतीले समयभित्रै निर्वाचन गराउने कुरामा दलहरू जिम्मेवारी नबेको आपूmले पाएको स्पष्ट पारे। उनले भने,‘आवधिक निर्वाचनको अहिलेसम्म सुनिश्चितता भएको छैन ।’
उनले राजनीतिक दलहरूले चुनाव गराउन नसकेर भन्दापनि नचाहेर नभएको आरोप लगाए । उप्रेतीले थपे,‘दलहरुमा चुनाव गराउन नचाहने मनोविज्ञान देखिएको छ ।’ यद्धपी उनले स्थानीय तहको निर्वाचन भएको ५ वर्षभित्रै अर्थात् ५ वर्ष पुग्न दुई महिना बाँकी रहँदै फेरि निर्वाचन हुने सुनिश्चितता हुनु अत्यन्तै सकारात्मक कुरा भएको टिप्पणी गरे ।
उनले प्रान्त र सङ्घीय संसद्को निर्वाचनसम्बन्धी ऐन हेर्न बाँकी नै रहेको बताउँदै भने,‘लोकतन्त्रको जग हाल्ने, लिडरसिप चयन गर्ने, ४० प्रतिशत महिलाहरूले उम्मेद्धवारी दिने अवसर भएकोले यो मौकालाई कसैले पनि खेर फाल्नुहुँदैन् ।’ स्थानीय तहको निर्वाचनमा १५ हजार महिला उम्मेद्धवार हुने स्पष्ट पारे । उनले निर्वाचनको लागि वातावरण बनाउनको लागि दलहरू गाउँमा जानुपर्नेमा जोड दिए । उप्रेतीले थपे,‘काठमाडौँ र सिंहदरबारमा बसेर हुँदैन्, निर्वाचनको वातावरण तय गर्नको लागि त गाउँमै जानुपर्यो नि ।’
उप्रेतीले निर्वाचन अत्यन्तै खर्चिलो हुने अवगत गराउँदै भने,‘यो निर्वाचन अत्यन्तै खर्चिलो हुन्छ, कतिपय उम्मेद्धवारले पैसा छैन, खर्चका आफ्नै सीमा छन्, एउटा बाहिरी सीमा र अर्को भित्री सीमा छ ।’

उप्रेतीले अहिले निर्वाचनको माहोल तयार भएको स्पष्ट पारे उनले भने,‘अहिले निर्वाचनको माहोल तयार हुँदैछ, असुन्तुष्ट दलहरुपनि अलि नरम बनेका छन् ।’
निर्वाचनका लागि समय भने अत्यन्तै थोरै भएको गुनासो पोखे । उप्रेतीले थपे,‘मतपत्र छाप्नमात्रैपनि ४५ दिन लाग्छ, निर्वाचन आयोगलाई हात समातेर एकै दिनमा निर्वाचन गराउन सरकारले हात बाँध्ने काम गर्‍यो ।’
उनले ७४४ वटा स्थानीय सरकारको निर्वाचन एकै चरणमा गर्नुभन्दापनि दुई वा तीन चरणमा गर्दा राम्रो हुने थियो भन्दै सरकारले यसमा गलत गरेको आरोप लगाए । उनले भने,‘सङ्घको चुनाव एक दिनमा गर्दा राम्रो हुन्छ, प्रदेशको चुनाव ७ दिनमा गर्दा राम्रो हुन्छ, तर ७४४ वटा स्थानीय सरकारको चुनाव एकै चरणमा गर्नु भनेको गाह्रो छ ।