राजनीति

त्रिभुवन विश्वविद्यालय  सुधारका लागि चार समिति गठन



काठमाडौँ, २६ वैशाख । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले विश्वविद्यालय सुधारका लागि विभिन्न समिति बनाएर अध्ययन–अनुसन्धान थालिएको बताएका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा गठन भएका उच्चस्तरीय समितिले बुझाएका प्रतिवेदनका साथै अब बन्ने समितिले दिने प्रतिवेदन अध्ययन र अनुसन्धान गरी विश्वविद्यालय सुधार गरिने बताए । त्रिविले हराएका उत्तरपुस्तिकाका सम्बन्धमा गत वर्ष १५ जेठमा पूर्वरजिस्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । त्रिविको जनशक्ति व्यवस्थापन र दरबन्दीको अवस्थाको अध्ययन गरी त्रिवि सेवा आयोगमार्फत शिक्षक÷कर्मचारीको पदपूर्ति गर्न प्रा.डा. नवराज कँडेलको संयोजकत्वमा जनशक्ति तथा दरबन्दी पुनरावलोकन तथा व्यवस्थापन समिति निर्माण गरिएको छ । तीन साताअघि बनेको समितिले अहिले धमाधम काम गरिरहेको छ । त्यस्तै, समक्षकता सम्बन्धमा उत्पन्न समस्याको निराकरणका गर्न प्रा.डा. भीमसेन देवकोटाको संयोजकत्वमा समकक्षतासम्बन्धी कार्यविधि संशोधन समिति गठन गरिएको छ । 

त्रिभुवन विश्वविद्यालयको दृष्टिकोण सन् २०३० र उपकुलपतिको सोचपत्रबीच तादात्म्यता मिलाई विश्वविद्यालयमा नीति एकरूपता कायम गरी सञ्चालन गर्न त्रिवि सेवा अयोगका पूर्वअध्यक्ष प्रा.डा. लालुप्रसाद पौडेलको संयोजकत्वमा सुझाव समिति गठन भएको छ । त्यसैगरी, त्रिविअन्तर्गतका सबै निकायमा तोकिएका पदाधिकारी नियुक्ति गर्दा अपनाउनुपर्ने आधार तथा मापदण्ड तयार गरी सुझावसहितको प्रतिवेदन पेस गर्न प्रा.डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा समिति बनेको छ । 

त्रिवि प्राज्ञिक परिषद्को गत १५ चैतमा भएको निर्णयअनुसार त्रिविबाट लिइने वार्षिक परीक्षा प्रणालीअनुसारका सबै संकायको स्नातक तहका प्रश्नपत्र तयार गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा लागू गराउन त्रिविले सम्बद्ध निकायलाई निर्देशन दिएको छ । यस्तै, उपकुलपतिको सोचपत्रमा उल्लेखित शैक्षिक पात्रोलाई व्यवस्थित गर्ने र कार्यान्वयन गर्ने, केन्द्रीय विभागहरूलाई स्कुल मोडलमा लैजाने प्रक्रिया यसअघि नै सुरु भइसकेको त्रिविले जनाएको छ ।