Banner News

थ्रेस होल्डले जनताको मतलाई अपमानित गरेको साना दलको तर्क



काठमाडौं,१३ चैत । थ्रेस होल्डको विरोध र स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै १० वटा साना राजीनीतिक दलहरु एक भएका छन् ।

आइतबार रिपोर्टर्स क्बल नेपालमा संयूक्त राष्ट्रवादी समाजवादी पार्टीले पत्रकार सम्मेलन गरेर १० साना राजनीतिक दलहरूबीच एकता भएको घोषणा गरेको छ । पार्टीहरुबीच एकता भएसँगै अब छिट्टै एकता महाधिवेशन हुने समेत जनाएको छ ।

पार्टीका संयोजक कमल प्रसाद चौलागाँईले ‘राष्ट्रवादी शक्ति एकजुट होऔँ’ भन्दै अपिल गर्दै भने,‘निर्वाचन आयोग र मुख्य राजनीतिक दलहरूले थ्रेस होल्डको नाममा संघीयता र समावेशिताको धज्जी उडाउने काम भएको छ, हामी यसको घोर भत्र्सना गर्दछौँँ ।’

चौलागाईले थपे,‘मुलुकमा जारी गतिरोध अन्त्यका लागि वर्तमान मुख्य राजनीतिक दलको सिण्डिकेट अन्त्य र समावेशिताको सिद्धान्तलाई लत्याउने काम भएको छ, धर्म र जातीयताको नाममा पश्चिमाहरूले जवरजस्त लादेका छन् र स्वायत्त प्रदेशको मुद्दा नेपालमा लादेर मुलुक बर्बाद बनाउने काम भारतले गरेको छ, नेपालको राजनीति र हाम्रो देशको समाजिक स्थिति वैदेशिक हस्तक्षेपबाट चलेको छ, हाम्रो पार्टी एकिकरणपछि निर्णायक राजनीतिक दलको रुपमा उभिन्छ ।’

नेकपा माले ‘समाजवादी’का अध्यक्ष विष्णुराज अर्यालले तीन प्रतिशत थे्रस होल्ड राख्ने निर्वाचन आयोग र मुख्य दलहरूको चर्को आलोचना गरे । उनले भने,‘यो थ्रेस होल्डले जनताको मतलाई अपमान गर्छ, समावेशिताको धज्जि उडाउने काम भइरहेको छ, संविधानमै नभएको कानुन बनाएर साना पार्टीहरूको अस्तित्वि समाप्त पार्ने काम गरेको छ, हामी यसको घोर भत्र्सना गर्दछौं ।’
कार्यक्रममा यूवराज सफलले थ्रेस होल्डको बिरोध नभएर राष्ट्रवादीहरूको एकता भएको बताउँदै भने,‘पार्टीको झण्डा, निर्वाचन चिन्ह लगायत अन्य सैद्धान्तिक कुराहरूको बारेमा एकता महाधिवेशन पनि निर्णय गर्नेछौँ ।’