मनोरञ्जन

कालजयी गीतका धनी सुमनशेखर मानन्धरकाे समीप



काठमाडौं, २३ चैत । ‘नानीदेखि लागेको बानी’  कथन भएपनि मानिसको भित्री इच्छा भयो भने साधनासँगको नाता कहिलैपनि तोडिदैन । त्यही माथि गीत संगीतको नाता ।  त्यसो त, गीत संगीत सबैको रुचीको विषय हो । फरक यत्ति मात्रै हो कि, कसैलाई कम र कसैलाई बढी मात्रै रुची हुन्छ ।

गायक सुमनशेखर मानन्धरको जीवनमा पनि यस्तै भएको छ । पेशाले चिकित्सक भएपनि आमा रत्नकुमारी मानन्धर राम्रो गाउँथिन् । तर उनले अनौपचारिक गायन मात्रै  गरिन् । आमाको गला र गीतबाट मोहित भएका मानन्धरले जीवनको एक मोडमा गायनलाई अंगाले र अंगालिरहेका छन् । यसैगरी कान्छा मामा दीप तुलाधरको रेकर्डिङ स्टुडियो भएकोले पनि उनी गायनमा लागेका हुन् ।

धेरै क्षेत्रमा हात हालेपनि गायनलाई नछोडेका मानन्धर भन्छन्, “चलेका गीत राम्रा हुन्छन् भन्ने पनि छैन, राम्रो गीत चल्छ भन्ने पनि छैन ।” “कुनै गीत केही समय आएर बिलाउँछन् भने केही चाहिँ सदाबहार हुन्छ् । खास हामीलाई चाहिने पनि  जीवन्त गीत नै होइन् र ?,” उनले भने, “मैले गाएको गीत सबै राम्रो हुन्छ भन्ने पनि छैन ।”

अध्ययनको सिलसिलामा पाकिस्तान होस् वा अष्टे«लिया पुगेको समयमा होस् मानन्धरले गायनलाई छोडेनन् । जसको फलस्वरुप उनका ५० वटा एल्बम आइसकेको छ ।

‘हार्मोनी’, ‘बेस्ट अफ  सुमन’, ‘समीप’ आदि एल्वम बजारमा आएका छन् । उनका ‘आँखा चार हुँदा’, ‘चञ्चले नानी चुलबुले नानी’, ‘सोह्रवर्षे जोवनमा’, ‘कान्छीको लजाउने बानी’जस्ता आधुनिक गीत र मेरो देश नेपाललगायतका राष्ट्रिय गीत प्रसिद्ध छन् । गीत गायक भएपनि उनको रुची गजल गायनमा पनि छन् ।

उर्दू भाषा जानेकोले उनले उर्दूमै पनि गजल गाएका छन् । “भविष्यमा गजल गायनको संकलन ल्याउँछु,” उनले भने ।  विभिन्न ६ भाषाका ज्ञाता मानन्धरले नेपाली भाषामा मात्रै गीत गाएका छन् । काठमाडौंमा जन्मिएका उनी अहिले ललितपुरको सानेपामा बस्छन् । पेशाले उनी संयुक्त राष्ट्र संघका कर्मचारी हुन् । कृषि विषयका ज्ञाता उनी यही सम्बन्धी एक परियोजनामा कार्यरत छन् ।
उनले दाबाका साथ भने, ‘गायनमा मैले जस्तो शुद्ध उच्चारण कसैले पनि गर्दैन ।’ नेपाली गीतसंगीतमा बढ्दो भल्गारिज्मले उनी चिन्तित छन् । भन्छन्, “गुणात्मक र कालजयी गीत चाहिन्छ ।” मिडियाले त्यस्तो भल्गारिज्मलाई नियन्त्रण गर्नुपर्छ ।

पप गीतको संस्थागततामा आफ्नो धेरथोर भूमिका रहेको बताउँदै मानन्धरले पपमा पनि मेलोडीको विकास गरेको बताए । उनका समकक्षीमा भीम तुलाधर, सञ्जय श्रेष्ठ, प्रवेशमान शाक्य र राजु सिंह हुन् । उनी थप्छन्, “गायक अाफैमा श्रोता पनि हो, तर विडम्बना उनीहरु अरुको सुन्दैनन् ।”

नेपाली गीत संगीतको विकासमा सरकारको पनि राम्रो नीति चाहिन्छ । र मिडिया पनि पक्षपाती हुनुहुँदैन । उनले कालीप्रसाद रिजाल, दिनेश अधिकारी, रमेश पौडेललगायतका गीत गाएका छन् । यसैगरी नेपथ्य व्याण्डको गीत पनि गाएका छन् ।