Banner News

समस्याका समाधानका लागि भन्दैसंसद् बैठक स्थगित



काठमाडौँ, २४ वैशाख । आपसी वार्ता र संवादमार्फत मुलुकको समसामयिक समस्या समाधानका लागि सहज गर्ने उद्देश्यले व्यवस्थापिका–संसद्को आजको बैठक स्थगन गरिएको छ ।

सभामुख ओनसरी घर्तीले संसद् परिसरमा आज पत्रकार सम्मेलन गरी राज्यप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै आपसी वार्ता र संवादमार्फत समस्याको समाधान गर्न सहज होस् भन्ने उद्देश्यले बैठक आगामी जेठ ४ गतेसम्मका लागि स्थगन गरिएको जानकारी दिइन । आज अपराह्न १ बजेका लागि तोकिएको संसद् बैठक नबसी सूचना टाँस गरेर स्थगन गरिएको हो ।

सभामुख घर्तीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संसद्मा विधिवत् रुपमा प्रवेश भइसकेको अवगत गराउँदै भनिन, संसद्मा प्रवेश गरिसकेको प्रस्ताव कसरी अगाडि बढाउने भन्ने विषय संसद्को आन्तरिक र विशेष धिकार हो ।
नेपालको संविधानको धारा १०१ को उपधारा २ बमोजिम व्यवस्थापिका–संसद्का दुई सय ४९ सदस्यले हस्ताक्षर गरी प्रधानन्यायाधीश कार्कीविरुद्ध यही वैशाख १७ गते महाभियोग प्रस्ताव संसद् सचिवालमा दर्ता गरेका थिए ।

संविधानले शक्ति पृथक्कीकरणको सिद्धान्तानुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका काम, कर्तव्य र अधिकारका सम्बन्धमा स्पष्ट व्यवस्था गरेको धारणा व्यक्त गर्दै सभामुख घर्तीले संविधानले व्यवस्था गरेबमोजिम राज्यका तीनै निकाय आफ्नो संवैधानिक सीमाभित्र रहनुपर्ने प्रस्ट मान्यता रहेको बताइन ।

राज्यका प्रमुख निकायका बीचमा टकराव हँुदा नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट स्थापित लोकतन्त्रलाई संस्थागत गर्न र आसन्न निर्वाचनलाई समेत प्रतिकूल असर पार्दछ, उनले भनिन, यस्तो अवस्थालाई ध्यान दिँदै राज्यका सबै निकाय र पदाधिकारीले आआफ्नो भूमिकामा आत्मसमीक्षा गर्दै धैर्य एवम् संयमतापूर्वक समाधान निकाल्न आवश्यक छ ।