सम्पादकीय

कांग्रेसका कुन नेताले कहाँबाट मतदान गर्दैछन् ?



काठमाडौं, १३ असार । स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसका सभापतिदेखि केन्द्रीय सदस्यहरू यतिवेला गृह जिल्लामा चुनाव प्रचारमा छन् ।

काठमाडौं बस्दै आएका कांग्रेसका ३५ भन्दा बढी नेता आफ्नै स्थायी वसोवास भएको शहर, बजार, गाउँ र टोलमा भोट माग्नमा व्यस्त छन । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न गृह जिल्ला डडेल्धुरा पुगेका छन् ।

सात नम्बर प्रदेशका बिभिन्न जिल्लाका चुनावी सभामा सहभागी भएका प्रधानमन्त्री देउवाले गन्यापधुरा गाउँपालिका १ असिग्रामस्थित आशाखर्च उच्च मावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।

कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले झापाको भद्रपुर नगरपालिका १० स्थित ऐतिहासिक कलवलगुढी केन्द्रमा मतदान गर्न एक सतादेखि झापाका बिभिन्न चुनावी सभामा सक्रिय छन् ।

पूर्वमहामन्त्री केवी गुरुङ इलाम नगरपालिका ७ स्थित बालमन्दिर मतदान केन्द्रमा मतदान गर्न गृहनगर पुगिसकेका छन् । इलाम नगरपालिकाको प्रमुखमा जिल्ला सभापति तथा सांसद हिमालय कर्मचार्य उम्मेदवार भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्वसांसद बलबहादुर केसीले नेचा सल्यान गाउँपालिका १ स्थित सल्यानको स्थानीय विद्यालय मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।

केसी दुई सातादेखि जिल्लाका बिभिन्न चुनावी सभामा क्रियाशील छन् । कार्य सम्पादन समिति सदस्य महेश आचार्य, डा. मिनेन्द्र रिजालले विराटनगर महानगरपालिका २ शंकरपुरस्थित जनता मावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।

पूर्वउपप्रधानमन्त्री एवं नेतृ सुजाता कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका ७ स्थित ऐतिहासिक आदर्श स्कुल मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।

केन्द्रीय सदस्य डिला संगौला, सांसद अशोक कोइराला, अमृत अर्यालले पनि महानगरपालिकाकै १० र १८ बाट मतदान गर्ने छन् । केन्द्रीय सदस्य गुरुराज घिमिरेले मोरङको ग्रामथान गाउँपालिकास्थित धनीबनी गाउँको पब्लिक उच्चमाविमा मतदान गर्ने छन् । सांसद डिकबहादुर लिम्बुले भने लेटाङ नगरपालिकाबाट मतदान गर्नेछन् ।

नेता बालकृष्ण खाँडले रुपन्देहीका तिलोत्तमा नगरपालिकास्थित आनन्दवनमा रहेको गिर्वाण स्कुल मतदान केन्द्रमा मतदान गर्नेछन् । केन्द्रीय सदस्य डा.नारायण खड्काले उदयपुरको चौदण्डी नगरपालिकाको स्थानीय विद्यालयको मतदान केन्द्रमा र केन्द्रीय सदस्य लक्ष्मी परियारले त्रियुगा नगरपालिका १० स्थित बालमन्दिर मतदान केन्द्रमा मतादन गर्ने छिन् ।

पार्टीका पूर्वप्रवक्ता दिलेन्द्रप्रसाद बढुले दार्चुलाको महाकाली नगरपालिका ५ स्थित अपिनम्पा संरक्षण क्षेत्रको कार्यालय ‘क’ मतदान केन्द्रमा मतदान गर्ने छन् ।
सांसद तथा पूर्वमन्त्रीहरू एनपी साउदले कञ्चनपुरको भीमदत्त नगरपालिका वार्ड नम्बर २ स्थित सरस्वती उच्चमावि मतदान केन्द्रबाट, रमेश लेखकले बेदकोट नगरपालिका ८ राष्ट्रिय माविबाट मतदान गर्नेछन् ।

केन्द्रीय सदस्य दीपक गिरीले दाङको दंगीशरण गाउँपालिका ४ को सुकदेवाको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । नेता चन्द्र भण्डारीेले छत्रेकोट गाउँपालिका १ हुँगाका जनजाग्रित मावि मतदान केन्द्रमा मतदान गर्नेछन् ।

अर्का यूवा नेता किशोरसिंह राठौरले बर्दियाको राजापुर नगरपालिका ६ स्थित जोगिपुर मतदान केन्द्रमा र बद्री पाण्डेले बाजुराको हिमाली गाउँपालिका ४ को शैलेश्वरी मावि शैलेश्वरी मतदान केन्द्रमा भोट हाल्ने भएका छन् ।

कांग्रेसका पाका नेता केशवकुमार वुढाथोकीले झापाको अर्जुनधारा नगरपालिकाको शनिश्चरे उच्चमाविबाट र यूवा नेत्री सरिता प्रसाईँले झापाकै बुद्धशान्ति गाउँपालिका ३ स्थित बुद्धआदर्श उच्चमावि मतदान केन्द्रमा भोट खसाल्ने भएका छन् ।

केन्द्रीय सदस्यहरू वीरबहादुर बलायरले डोटी, पार्वती डीसी चौधरीले दाङ, सुजाता परियारले इलाम, सीता गुरुङले तेह्रथुम, ईश्वरी न्यौपानेले कैलाली, भीष्मराज आङ्दम्बेले पाँचथर र मीन विश्वकर्माले धरान नगरपालिकाबाट मतदान गर्ने भएका छन् ।

दाङको लमही नगरपालिका ८ स्थित सतवरियाका स्थायी वासिन्दा कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का त्यहीँको मतदाता भए पनि स्वास्थ्यमा आएको खराबीका कारण भोट हाल्न नजाने भएका छन् ।

केन्द्रीय सदस्य तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भोजपुर षडानन्द नगरपालिका १ स्थित शारदा उच्च मावि मतदान केन्द्रमा मतदाता नामावली भएपनि उनी गृह जिल्ला जाने वा नजाने निश्चित भएको छैन । जनप्रहार साप्ताहिकमा समाचार छ ।