विश्व

चन्द्रमामा हिउँ भेटिएकाे नासाकाे दावी



भदौ ६, एजेन्सी । अमेरिकाको अन्तरिक्ष नासाले चन्द्रमाको ध्रुवीय क्षेत्रमा हिउँ रहेको दावी गरेको छ ।

भारतले पठाएकाे चन्द्रयान-१ मा नासाको एउटा मून मिनरोलोजी म्यापर इन्स्ट्रुमेन्ट (एम ३) नामक उपकरण जडान गरिएकाे थियो । यसैबाट पाएको जानकारीको विश्लेषण गरेर नासाले यो दावी गरेको बताइएको छ ।

नासाले दिएको जानकारी अनुसार चन्द्रयान-१ ले चन्द्रमाको जुन भागमा पानी भएको पुष्टि गरेको छ त्यहाँको तापक्रम कहिले माइनस १५६ डिग्रीभन्दा माथि जाँदैन । चन्द्रमाको यो ध्रुवीय क्षेत्रमा सूर्यको किरण लगभग पुग्दैन ।

चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको अधिकाँश हिउँ त्यहाँ रहेको खाडलहरुमा जम्मा भएर बसेको छ भने उत्तरी ध्रुवमा जमेर रहेको हिउँ ठूलो क्षेत्रमा फैलिएको नासाले जनाएको छ ।