Banner News

वर्तमान सरकारको कार्यकाल जनमूखी विकास हुन्छ : मन्त्री पोखरेल



सोलुखुम्बु, ३ चैत । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले वर्तमान सरकारको कार्यकालमा जनताले सोचेभन्दा पनि बढी विकास गरी जनताको मनमस्तिष्कमा बस्ने बताउनुभएको छ ।

सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका केन्द्रमा निर्माण हुने अस्पतालको शिलान्यास तथा अस्पताल निर्माणका लागि आयोजित श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञको शनिबार उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले संघियताको कार्यान्वय, कानुन निर्माण, संरचना तयार लगायतका विविध कार्यले गर्दा सरकारको यो वर्ष व्यवस्थापन पक्षमा बढी समय वितेको बताउनुभयो । उहाँले आगामी वर्षमा सरकारले विकासको लहर ल्याउने समेत बताउनुभयो ।

उहाँले कानुन र आवश्यक संरचना नुहँदा चाहेर पनि सरकारले जनताले सोचे जस्तो काम गर्न नसकेको बताउनुभयो । मन्त्री पोखरेलले आवश्यक कानुन बनेपछि समृद्ध नेपाल र सुखी नेपालीको नाराले सार्थकता पाउने बताउनुभयो ।

स्वास्थ्य, शिक्षा, यातायात लगायतको क्षेत्रमा सबै दल एक भएर लाग्नुको विकल्प नभएकोसमेत उहाँले प्रष्ट पार्नुभयो । प्रतिपक्ष दल नेपाली कांग्रेसलाई लक्षित गर्दै उहाँले नेकपाको एकता विकास र समृद्धिका लागि भएकाले अनावश्यक भ्रम नफैलाउन अनुरोध गर्नुभयो ।

नेकपा जस्तै अन्य पाटी र संगठनको समेत विचार मिल्ने भए पार्टी एकता गरेर अगाडि बढ्न उहाँले सुझावसमेत दिनुभयो ।