राजनीति

काठमाडौँ महानगरले स्वयम्भूको बुद्ध जयन्ती मेला व्यवस्थित गर्ने



काठमाडौँ, २८ वैशाख ।  बुद्ध जयन्तीको अवसरमा स्वयम्भूमा लाग्ने वैशाख पूर्णिमा मेलालाई यस वर्ष व्यवस्थित बनाइने भएको छ ।

काठमाडौँ महानगरपालिकाले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिसँग समन्वय गरी आर्थिक सहयोग तथा भीड व्यवस्थापन गर्ने भएको हो । स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा रहेका गुम्बामा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, मेलामा भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापन गर्न लागेको काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरको संयोजकत्वमा २५६८औँ बुद्धजयन्ती व्यवस्थापन मूल समारोह समिति गठन गरिएको छ । उक्त समितिले मन्दिर आसपासका अस्थायी पसल हटाउने, माग्न र दान गर्न निषेध गरेको छ । भीड व्यवस्थापनका लागि जथाभावी भोजन दान गर्न नपाइने र तोकिएको स्थानबाट मात्र दान गर्नुपर्ने नियम बनाइएको छ ।

थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट करिब दुई लाख धर्मावलम्बी आउने अपेक्षा गरिएको महासमितिका महासचिव अशोक बुद्धाचार्यले जानकारी दिनुभयो । आगामी जेठ १० गते वैशाख पूर्णिमा तथा बुद्ध जयन्ती परेको छ ।